काठमाडौं। नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा)को केन्द्रीय कार्य समितिको पहिलो बैठकमा नाडाका निवर्तमान अध्यक्ष करण चौधरीले नवनिर्वाचित अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीलाई आफ्नो पदभार विधिवत रुपमा हस्तान्तरण गरेका छन्।
यस अवसरमा निवर्तमान अध्यक्ष चौधरीले नवनिर्वाचित अध्यक्ष उप्रेतीलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै नाडाको संस्थागत विकास तथा अटोमोबाइल क्षेत्रको उन्नयनमा उनको नेतृत्व महत्वपूर्ण हुने विश्वास व्यक्त गरेका छन्।
यसै अवसरमा नवनिर्वाचित अध्यक्ष उप्रेतीले पद तथा गोपनीयताको सपथ ग्रहण गर्दै आफ्नो कार्यकालमा नाडाको उद्देश्य, विधान तथा मूल्य मान्यताअनुरुप संस्थालाई अझ सशक्त, सक्रिय तथा प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे।
उनले सम्पूर्ण सदस्य व्यवसायीको हित संरक्षण, अटोमोबाइल क्षेत्रको विकास तथा सम्बन्धित सरोकारवाला निकायसँग सहकार्य गर्दै अघि बढ्ने धारणा व्यक्त गरेका थिए। उक्त बैठकमा नाडाका नवनिर्वाचित अध्यक्षले नाडा विधान २०७८ को दफा २०.१ को ‘ङ’ बमोजिम महेश पाल, दीपककुमार अग्रवाल तथा राजेश गिरीलाई नाडाको केन्द्रीय कार्य समितिको सदस्य पदमा मनोनयन गरेका थिए।
उनले मनोनित सदस्यलाई स्वागत गर्दै संस्थाको आगामी गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा व्यक्त गरे। साथै, नाडाको केन्द्रीय कार्य समितिले निकट भविष्यमा पदाधिकारीको चयनका लागि निर्वाचन प्रक्रिया सम्पन्न गर्ने निर्णयसमेत गरेको छ।
आगामी दिनमा नाडाले अटोमोबाइल क्षेत्रको समग्र विकास, व्यवसायीको हकहित संरक्षण तथा नीतिगत सहकार्यलाई थप सुदृढ गर्दै अघि बढ्ने विश्वास व्यक्त गरे।