काठमाडौं। पछिल्लो केही वर्षयता प्रविधिको संसारमा आर्टिफिसियल इन्टेलिजेन्स अर्थात कृत्रिम बौद्धिमता (एआई)ले जस्तो हलचल र आकर्षण अरू कुनै क्षेत्रमा हुन सकिरहेको छैन। यो प्रविधि सर्वसाधारणको पहुँचमा आएसँगै निकै उत्साहका साथ स्वागत गरियो।
स्वास्थ्य क्षेत्रदेखि उद्योगधन्दासम्म, अन्तरिक्ष अनुसन्धानदेखि रक्षा प्रणालीसम्म एआईको विकाससँगै भएको परिवर्तन अभूतपूर्व छ। तर, अर्को पाटो भने उत्तिकै डर लाग्दो छ। संसारभरका धेरै पेशाहरूमा यसले आमूल परिवर्तन ल्याउँदै गर्दा लाखौँ मानिसले आफ्नो रोजगारी गुमाउने खतरा बढेको छ।
विभिन्न प्रक्षेपणका अनुसार सन् २०३० सम्ममा संसारभर झन्डै सवा नौ करोड मानिसको जागिर एआईले खोस्न सक्छ। लगभग ३० करोड रोजगारीहरू स्वचालित प्रणालीका कारण प्रभावित हुनेछन्। यो तथ्यांकले देखाएजस्तो पूर्ण रूपमा निराशाजनक भने छैन।
बेरोजगारीको समस्या चर्को भएको मुलुकमा यो विरोधाभास अझ स्पष्ट देखिन्छ। बजारको आक्रामक विज्ञापन र भ्रमका कारण अहिले यो प्रविधि सिक्ने अनौठो होडबाजी चलेको छ।
यस प्रविधिले पुराना जागिरहरू खाए पनि नयाँ अवसरहरू सिर्जना गर्ने छ। दक्षता ज्ञान आर्जन गरेका तथा उच्च शिक्षा प्राप्त गरेका मानिसहरूले सजिलै काम मात्र पाउने छैनन्, बरु उनीहरूको आर्थिक अवस्थामा रुपान्तरण हुनुका साथै मजबुद हुने सम्भाजना छ। हाम्रो समयको सबैभन्दा ठूलो विरोधाभास नै यही हो। प्रविधिले मानिसको गाँस र बास खोस्ने डर छ, त्यसैले नै प्रगतिका नयाँ ढोकाहरू पनि खोल्दै छ।
बेरोजगारीको समस्या चर्को भएको मुलुकमा यो विरोधाभास अझ स्पष्ट देखिन्छ। बजारको आक्रामक विज्ञापन र भ्रमका कारण अहिले यो प्रविधि सिक्ने अनौठो होडबाजी चलेको छ। विद्यार्थी, कामकाजी मानिसहरू र स्कुले केटाकेटीसमेत आफ्नो भविष्य सुरक्षित गर्ने आशमा यससम्बन्धी तालिम केन्द्रहरूतिर धाइरहेका छन्। यो प्रविधि अहिलेको नयाँ खेल मैदान बनेको छ।
अनलाइन कक्षाहरू, छोटो अवधिका तालिम र प्रमाणपत्र दिने संस्थाहरूमा अहिले थेग्नै नसकिने भीड छ। समयको दौडमा पछि परिने हो कि भन्ने डरले अन्धाधुन्ध दौड पैदा गरेको हो। यो चिन्ता स्वाभाविक हो। दैनिक रूपमा गरिने सामान्य र एकैनासका कामहरू सबैभन्दा पहिले संकटमा पर्ने छन्। आउने दशकमा कार्यालयका सुरुवाती तहका धेरै कामहरू निकै खुम्चिने छन्।
यो इतिहासकै पुनरावृत्ति जस्तो देखिन्छ। जतिबेला औद्योगिक क्रान्तिले मजदुरहरूलाई बेरोजगार बनाएको थियो वा कम्प्युटरको आगमन हुँदा मानिसहरूले आफ्नो काम गुमाएका थिए। यो प्रविधिले कामहरू पूर्ण रूपमा नष्ट मात्र गरिरहेको छैन, यसले काम गर्ने तरिकालाई नयाँ रूप दिइरहेको छ। कम्पनीहरूले अब त्यस्ता कामदारको खोजी गरिरहेका छन्। जसले यी नयाँ प्राविधिक औजारहरूलाई कुशलतापूर्वक चलाउन सक्छन्।
भविष्य अब त्यस्ता मानिसहरूको हुनेछ, जसले आफ्नो मूल क्षेत्रको ज्ञानसँगै नयाँ प्रविधिलाई पनि जोड्न सक्छन्, जस्तैः अर्थशास्त्रसँगै प्रविधि, कानुनसँगै प्रविधि, वा स्वास्थ्य सेवा सँगसँगै प्रविधि। यसै कारण अहिले यो प्रविधि सिक्नका लागि यति ठूलो आकर्षण देखिएको हो। अर्कोतर्फ एउटा भ्रमको खतरा छ। यससम्बन्धी शिक्षाको फस्टाउँदो बजारले तुरुन्तै विज्ञ बनाइदिने र जागिरको ग्यारेन्टी गर्ने हजारौँ कोर्सहरू बेचिरहेको छ।
हरेक दिन परिवर्तन भइरहने यो प्रविधिसँग तालमेल मिलाउन हाम्रा शैक्षिक संस्थाहरूलाई आफ्नो पाठ्यक्रम सुधार्न चुनौती परिरहेको छ।
तीमध्ये धेरैजसो सतही, पुराना र वास्तविक सीप सिकाउनुभन्दा व्यापारिक नाफा कमाउने उद्देश्यले खोलिएका छन्। केवल एउटा प्रमाणपत्रले मात्र कसैलाई बजारमा बिक्ने बनाउँदैन। यो प्रविधिलाई सिद्धान्तमा मात्र सिक्नु र वास्तविक जीवनका समस्याहरू सुल्झाउन व्यावहारिक रूपमा प्रयोग गर्न सक्नुबीच ठूलो खाडल छ। अन्य अवरोधहरू पनि उत्तिकै छन्। हाम्रो समाजमा अझै पनि डिजिटल असमानता कायमै छ। हरेक दिन परिवर्तन भइरहने यो प्रविधिसँग तालमेल मिलाउन हाम्रा शैक्षिक संस्थाहरूलाई आफ्नो पाठ्यक्रम सुधार्न चुनौती परिरहेको छ।
यसबाहेक, गोपनीयताको सुरक्षा, गलत सूचनाको बाढी र यसले निम्त्याउने पूर्वाग्रहजस्ता नैतिक र कानुनी चुनौतीहरू अझै सुल्झिन बाँकी छन्। सरकार पनि यस प्रविधिले समाजमा ल्याउन सक्ने उथलपुथलको सामना गर्न अझै पूर्ण रूपमा तयार भइसकेका छैनन्। त्यस्तै समयक्रममा बजारले नै वास्तविक सिकाइ र केवल प्रमाणपत्रको पछि दगुर्नेबीचको फरक छुट्याइदिने छ। रोजगारदाताहरूले केवल प्रविधिसँगको चिनजानभन्दा मानिसको बदलिँदो परिस्थितिमा ढाल्न सक्ने क्षमता, सृजनशीलता र समस्या समाधान गर्ने कलालाई पुरस्कृत गर्ने छन्।
प्रविधिको सामान्य ज्ञान हुनु र कामको लागि तयार हुनु फरक कुरा हुन्। यसले उत्पादनशीलता बढाउन र अवसरहरू सिर्जना गरे पनि सँगसँगै यसले धनी र गरिबबीचको खाडललाई अझ फराकिलो बनाउन पनि सक्छ। त्यसैले, अहिलेको वास्तविक चुनौती भनेको यस्तो जनशक्ति तयार गर्नु हो, जसले गम्भीरतापूर्वक सोच्न सकोस्, निरन्तर नयाँ कुरा सिकिरहन सकोस् र मानव मस्तिष्कको विवेकलाई कृत्रिम क्षमतासँग सही ढङ्गले जोड्न सकोस्।- द पायोनिर पत्रिका