काठमाडौं। कालीगण्डकी गर्ज हाइड्रोपावर प्रवर्द्धक रहेको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु भएको छ।
म्याग्दीमा निर्माण हुने आयोजना १८० मेगावाट क्षमताको हुनेछ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ भालेबासमा विस्फोटक पदार्थ प्रयोग गरी सुरुङ निर्माण थालिएको हो।
आगामी चार वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाले बाँध, गाडपार र घरापमा प्रस्तावित विद्युतगृह निर्माणस्थल गरी चार ठाउँबाट सुरुङ निर्माण तयारी गरेको आयोजना निर्देशक रमण सिंहले बताए। ‘आयोजनामा पाँच किलोमिटर ६०० मिटर लामो सुरुङ निर्माण हुनेछ। ‘विद्युतगृह र बाँध निर्माणस्थलमा सिभिल ठेकेदार साउथ एसियन इन्फ्रास्ट्रक्चर परिचालित भइसकेको छ,’ उनले भने।
मुस्ताङको थासाङ गाउँपालिका–४ घाँसामाको पहिरा थाप्लामा बाँध र म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ घरापमा विद्युतगृह निर्माण गरिनेछ। ‘रन अफ द रिभर’ प्रकृतिको आयोजनाको एक किलोमिटर ‘पेनस्टक’ पाइपलाइन रहनेछ। ठेकेदार र नेपाली सेनाको कार्यालय, आवास र विस्फोटक पदार्थ भण्डारण भवन हुने अन्तिम चरणमा पुगेको प्रवर्द्धक कम्पनीले बताएको छ।
आयोजना स्थलमा पुग्न गाडपारमा बेलीब्रिज जडान गरिनेछ भने घरापदेखि दानासम्म २२० केभी क्षमताको एक किलोमिटर प्रसारण लाइन निर्माण गरेर कालीगण्डकी गर्जको विद्युत केन्द्रीय प्रणालीमा आबद्ध गराइनेछ।
४० अर्ब लागत अनुमान गरिएको आयोजनामा ग्लोबल आइएमी बैंकको नेतृत्वमा लक्ष्मी सनराइज, हिमालयन र प्रभु बैंकको लगानी रहने आयोजनाका वरिष्ठ प्रबन्धक कृष्णदास श्रेष्ठले बताए। आयोजनाले प्रभावित क्षेत्रका स्थानीयलाई १० प्रतिशत सेयर दिनेछ।
नारच्याङ भएर बग्ने नदीमा १६२ मेगावाट क्षमताका पाँच वटा जलविद्युत् आयोजना निर्माण भएका छन्। पाँच मेगावाट क्षमताको घलेम्दीखोला, ४२ मेगावाट क्षमताको म्रिस्तीखोला, ३८ मेगावाट क्षमताको नीलगिरि– १ ७१ मेगावाट क्षमताको नीलगिरि–२ र ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजना निर्माण सञ्चालनमा आइसकेका छन्।