काठमाडौं। जेठ १५ मा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको १५ दिन नाघ्दै छ। बजेट सार्वजनिक भएको साता दिनपछि त्यसमाथिका आयव्यय विवरण संसदमा कार्यसूचीका रुपमा प्रवेश गराउनुपर्ने कानुनी व्यवस्था छ।
संसद् बैठकमा सांसदले बजेटमाथि छलफल सकाएर पारित गरेपछि आर्थिक वर्षको पहिलो महिनाबाट कार्यान्वयनमा लग्ने कानुनी व्यवस्था छ। तर, जेठ १७ मा कार्यसूचीमा उल्लेख नगरिए पनि संसद् बैठकमा उपस्थिति भएका प्रधानमन्त्री बालेन्द्र शाह सांसदका प्रश्नोत्तरमा सहभागी भए।
उनले नेपाल–भारत सीमा विवादबारे विवादित कुरा उठाएकै कारण संसद् बैठक अहिलेसम्म बेकामे बनेको हो। उनले भारतले मात्र नेपालको सीमा मिचेको नभई नेपालले पनि भारतको सीमा मिचेको भनेपछि विवादमा तानिएका हुन्।
प्रधानमन्त्रीको विवादित वक्तव्यपछि संसदमा नेपाली कांग्रेसलगायत विपक्षी दलले उक्त कुरा संसदको रेकर्डबाट हटाउनुपर्ने र माफी माग्नुपर्ने माग गरेपछि बैठक लगातार अवरुद्ध रहँदै आएको छ। म्ंगलबार पनि अवरुद्ध बैठक सूचना टाँसेर स्थगित गरिएको थियो भने आज पनि स्थगित भएको छ।
संसद् बैठकलाई प्रधानमन्त्रीको बेवास्ता, सभामुख सत्ता निकट हुँदा अप्ठेरो र विपक्षी दलले नागरिकका समस्यातिर औंला उठाउनुको सट्टा सरकारप्रति विरोध गर्दा संसद् सुचारु हुन अझ कति दिन कुर्नुपर्ने हो? प्रधानमन्त्रीका व्यवहारले आगामी बाटो तय गर्नेछ।
राष्ट्रिय सभा बैठक पनि स्थगित
विपक्षी दलका सांसदको अवरोधका कारण राष्ट्रिय सभा बैठक पनि स्थगित भएको छ। मंगलबारको बैठकमा विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा दिएको अभिव्यक्ति सच्चाउनुपर्ने माग गर्दै राष्ट्रिय सभा बैठक अवरोध गरेका थिए।
राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले विपक्षी सांसदलाई बैठकको कार्यसूचीमा छलफल गर्न अवरोध नगर्न र आसन ग्रहण गर्न गरेको आग्रहविपरित उठेर विरोध गरेपछि अध्यक्ष दाहालले जेठ २८ गते २ बजे बस्ने गरी स्थगित भएको घोषणा गरेका छन्।