काठमाडौं। नेपाल सरकारले देशभरका २५ वटा अत्यावश्यक सेवामा हडताल गर्न कानुनी रूपमा निषेध गरेको छ। गृह मन्त्रालयको सिफारिसमा आवश्यक सेवा सञ्चालन ऐन, २०१४ को दफा ३ को उपदफा (१) अन्तर्गत प्राप्त अधिकार प्रयोग गरी सरकारले जेठ २५ गते नेपाल राजपत्रमा यो सूचना प्रकाशित गरेको हो।
सरकारले निषेध गरेका सेवाहरूमा डाक, तार, टेलिफोन, इन्टरनेट र सञ्चार सेवादेखि लिएर जल, स्थल र हवाईमार्गको यातायात सेवासम्म पर्छन्। त्यस्तै अस्पताल, स्वास्थ्य केन्द्र र एम्बुलेन्स सेवा, औषधि उत्पादन तथा वितरण, खानेपानी, विद्युत र पेट्रोलियम पदार्थको ढुवानी तथा वितरण सेवामा पनि हडताल गर्न पाइने छैन।
दैनिक जनजीवनसँग प्रत्यक्ष जोडिएका खाद्यान्न, दाल, चामल, नुन र तेलको पैठारी, ढुवानी तथा वितरण सेवा पनि यस निषेधाज्ञाको दायरामा परेका छन्। बैङ्किङ, बिमा, पर्यटन, होटेल तथा रेष्टुराँ सेवा, भेटेरिनरी सेवा, मौसम पूर्वानुमान सेवा, राहदानी विभाग र कन्सुलर सेवा पनि यसैमा समावेश छन्।
हवाई अड्डाको सञ्चालन, रक्षा सामग्रीको उत्पादन तथा वितरण, आन्तरिक सुरक्षा कार्य, फोहोरमैला व्यवस्थापन तथा सरकारी छापाखाना सेवामा समेत हडताल गर्न नपाइने भएको छ। मास्क र ह्याण्ड सेनिटाइजर सम्बन्धी सेवा पनि यस सूचीमा परेका छन्।


