काठमाडौं। बुद्ध एयरले उडान सेवाबाट अवकाश प्राप्त एटीआर–७२ (एमएसएन–५३५) विमानको फ्युजलेज नेपाली सेनालाई हस्तान्तरण गरेको छ।
सोमबार आयोजित त्रिभुवन विमानस्थलस्थित बुध्द एयरको ह्यांगरमा बुध्द एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले उक्त फ्युजलेज नेपाली सेनाका युद्धकार्य प्रमुख उपरथी अनुपजंग थापालाई हस्तान्तरण गरेका हुन्।
उक्त विमानले ७० हजार साइकल पूरा गरेपछि केही महिनाअघि नै बुध्द एयरले यसलाई उडान सेवाबाट अवकाश दिएको थियो।

कार्यक्रममा बुध्द एयरका कार्यकारी अध्यक्ष बस्नेतले नेपाली सेनाले विपद् व्यवस्थापन, पूर्वाधार निर्माण, शान्ति–सुरक्षा तथा राष्ट्रिय हितका हरेक जिम्मेवारीमा निरन्तर खटिँदै आएको उल्लेख गर्दै प्रतिष्ठित संस्थालाई सहयोग गर्न पाउनु गर्वको विषय भएको बताए।
बस्नेतले हस्तान्तरण गरिएको विमानको फ्युजलेज, विमानस्थलमा हुन सक्ने हवाई दुर्घटना, विभिन्न प्रकारका थ्रेट तथा आपतकालीन अवस्थाको पूर्वतयारी र प्रतिकार क्षमता अभिवृद्ध गर्न उपयोगी हुने विश्वास व्यक्त गरे।
उनका अनुसार यो फ्युजलेज नेपाली सेनाले विमानस्थल आपतकालीन योजनाअन्तर्गत विभिन्न सतर्कता स्तरका प्रशिक्षणमा प्रभावकारी रुपमा प्रयोग गर्न सकिनेछ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक प्रेमनाथ ठाकुरले बुध्द एयरले प्रदान गरेको फ्युजलेजले नेपाली सेनालाई पूर्वाभ्यास, सुरक्षा तयारी तथा विभिन्न प्रकारका थ्रेट सामना गर्न महत्वपूर्ण सहयोग पुर्याउने बताए। उनले बुध्द एयरले नागरिक उड्डयन प्राधिकरणसँग निरन्तर सुरक्षा सहकार्य गर्दै आएको उल्लेख गरे।