काठमाडौं। निर्जीवन बिमा व्यवसाय सञ्चालन गरिरहेका कम्पनीहरूको छाता संगठन नेपाल निर्जीवन बिमा व्यवसायी संघ अध्यक्षमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीका सञ्चालक अध्यक्ष मनोहर दास मुल निर्विरोध निर्वाचित भएका छन्।
संघको जेठ २५ सम्पन्न नवौं र दसौं वार्षिक साधारणसभाबाट उनी अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका हुन्। यसअघि उनले संघमा उपाध्यक्षको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेका थिए। अध्यक्ष पदको कार्यकाल आगामी २ वर्षको हुनेछ।
यस्तै, उपाध्यक्षमा आजाद श्रेष्ठ, (अध्यक्ष, युनाइटेड अजोड इन्स्योरेन्स), महासचिव महेन्द्रकृष्ण श्रेष्ठ, (अध्यक्ष, हिमालयन एभरेष्ट इन्स्योरेन्स), कोषध्यक्षमा रमेशकुमार निरौला (अध्यक्ष, नेको इन्स्योरेन्स) निर्वाचित भएका छन्।
सदस्यमा कुनाल कयाल (अध्यक्ष, सानिमा जीआईसी इन्स्योरेन्स), पवन अग्रवाल, (सञ्चालक, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स) नियुक्त भएका छन्। त्यसैगरी सभाले निवर्तमान अध्यक्ष राजेन्द्र मल्लको योगदानको कदर गर्दै उनलाई कार्यसमितिमा आमन्त्रण गर्ने निर्णयसमेत गरेको छ।
निर्जीवन बिमा क्षेत्रमा दुई दशक लामो अनुभव हासिल गरेका मुल त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र विषयमा स्नातकोत्तर उत्तीर्ण गोल्ड मेडलिस्ट हुन्। बिमा क्षेत्रसँगै विभिन्न उद्योग तथा व्यावसायिक गतिविधिमार्फत उनले देशको आर्थिक क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएका छन्।
हाल उनी नेपाल कागज व्यवसायी संघका अध्यक्ष तथा नेपाल च्याम्बर अफ कमर्सका कार्यकारी सदस्य र नेपाल टेनिस संघ अध्यक्षसमेत रहेका छन्।
उनी २०७९ फागुन २९ गतेदेखि सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको सञ्चालक समिति अध्यक्षका रूपमा कार्यरत छन्। अध्यक्ष मुलले नेपालको निर्जीवन बिमा व्यवसायलाई अझ व्यवस्थित, पारदर्शी, स्वच्छ तथा प्रतिस्पर्धी बनाउन प्रतिबद्ध रहने बताएका छन्।