काठमाडौं। सुधन गुरुङ ४७ दिनपछि पुनः गृहमन्त्रीमा फर्किएका छन्। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पद तथा गोपनीयताको शपथ लिएसँगै उनी फेरि गृह मन्त्रालयको नेतृत्वमा फर्किएका हुन्।
प्रधानमन्त्री वालेन्द्र शाहले मंगलबार गुरुङलाई गृहमन्त्रीमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए। उक्त सिफारिसअनुसार राष्ट्रपतिले उनलाई गृहमन्त्रीमा नियुक्त गरेपछि शपथ ग्रहण गराएका हुन्।
सुधन गुरुङसँगै विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा प्रतिनिधिसभा सदस्य महावीर पुनले पनि शपथ लिएका छन्।
गुरुङले यसअघि वैशाख ९ गते गृहमन्त्री पदबाट राजीनामा दिएका थिए। उनी सम्पत्ति विवरण र अन्य केही विषयलाई लिएर सार्वजनिक विवादमा तानिएपछि पदबाट अलग भएका थिए। त्यसपछि सरकारले उनीमाथि लागेको आरोपबारे छानबिन गर्न विशेष समिति गठन गरेको थियो।
सरकारद्वारा गठित समितिले छानबिनपछि गुरुङविरुद्ध लागेका आरोप पुष्टि हुने आधार नभेटिएको निष्कर्षसहित प्रतिवेदन बुझाएको थियो। समितिको प्रतिवेदनले उनलाई ‘क्लिन चिट’ दिएपछि पुनः मन्त्रिपरिषद्मा फर्काउने प्रक्रिया अघि बढाइएको थियो। सोही प्रक्रियाअन्तर्गत उनी ४७ दिनपछि पुनः गृहमन्त्री बनेका हुन्।
गृहमन्त्रीका रूपमा आफ्नो पहिलो कार्यकालमा गुरुङले भ्रष्टाचार तथा अनियमिततासम्बन्धी केही चर्चित प्रकरणमा कडा कदम चालेका थिए। त्यसक्रममा उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक लगायतका व्यक्तिमाथि समेत कानुनी प्रक्रिया अघि बढाएको भन्दै व्यापक चर्चा पाएका थिए।
गुरुङले केही दिनअघि एक सार्वजनिक कार्यक्रममा आफू पुनः गृह मन्त्रालयमा फर्किन सक्ने संकेत गरेका थिए। उक्त कार्यक्रममा उनले समर्थक तथा शुभेच्छुकहरूलाई सम्बोधन गर्दै आफू फेरि गृहमन्त्री बनेमा बधाई दिन फूलमाला र खादा लिएर नआउन आग्रह गरेका थिए। उनले पदभन्दा कामलाई प्राथमिकता दिनुपर्ने बताउँदै अनावश्यक तामझाम नगर्न आग्रह गरेका थिए।
गुरुङको पुनरागमनसँगै गृह मन्त्रालयले सुरक्षा व्यवस्थापन, शान्ति–सुरक्षा, प्रशासनिक सुधार तथा सुशासनसँग सम्बन्धित प्राथमिकतामा नयाँ गति लिने अपेक्षा गरिएको छ। साथै आगामी दिनमा उनले मन्त्रालयको नेतृत्व कसरी अघि बढाउँछन् भन्ने विषय चासोका साथ हेरिएको छ।