काठमाडौं। १० महिनामा सरकारको चालू खाता ७२९ अर्ब २८ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालू खाता २७२ अर्ब ५३ करोडले बचतमा थियो।
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८२/८३ वैशाखसम्मको तथ्यांकले यस्तो देखाएको हो।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब १ करोडले बचतमा रहेको चालू खाता समीक्षा अवधिमा ५ अर्ब ५ करोडले बचतमा छ।
समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर १४ अर्ब ६५ करोड रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ८ अर्ब ४८ करोड रहेको थियो।
यसैगरी समीक्षा अवधिमा रु.१६ अर्ब ९६ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) १० अर्ब ५८ करोड रहेको थियो।
समीक्षा अवधिमा शोधनान्तर स्थिति ८६३ अर्ब ५६ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ४३८ अर्ब ५२ करोडले बचतमा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३ अर्ब २३ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ५ अर्ब ९८ करोडले बचतमा रहेको छ।
२०८२ असार मसान्तमा २६७७ अर्ब ६८ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ३८.३ प्रतिशतले वृद्धि भई २०८३ वैशाख मसान्तमा ३७०४ अर्ब ५५ करोड पुगेको छ। अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकामा २०८३ वैशाख मसान्तमा २४.० प्रतिशतले वृद्धि भई २४ अर्ब १९ करोड पुगेको छ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ असार मसान्तमा २४१४ अर्ब ६४ करोड रहेकोमा २०८३ वैशाख मसान्तमा ३६.६ प्रतिशतले वृद्धि भई ३२९८ अर्ब ३८ करोड पुगेको छ।
बैंक तथा वित्तीय संस्था (राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तमा २६३ अर्ब ४ करोड रहेकोमा २०८३ वैशाख मसान्तमा ५४.४ प्रतिशतले वृद्धि भई ४०६ अर्ब १७ करोड कायम भएको छ। २०८३ वैशाख मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २०.६ प्रतिशत रहेको छ।