काठमाडौं। नेपाल सरकारले विद्युतीय सवारीसाधन (ईभी) सम्बन्धी कर तथा भन्सार संरचनामा गरेको संशोधनपछि नेपालमा सुजुकी अटोमोबाइल्सको आधिकारिक वितरक सिटी मोटोकर्प प्रालिले ई–भिटाराका सबै भेरियन्टको मूल्य घटाएको छ।
कम्पनीले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार ई–भिटाराका चारै भेरियन्टमा तत्काल प्रभावबाट एक लाख रुपैयाँसम्म मूल्य कटौती गरिएको हो। कम्पनीले सरकारले उपलब्ध गराएको कर तथा भन्सार सुविधाको सम्पूर्ण लाभ ग्राहकलाई हस्तान्तरण गरिएको जनाएको छ।
संशोधित मूल्यअनुसार ४९ किलोवाट–घण्टा ब्याट्री क्षमता भएको ई–भिटारा डेल्टाको मूल्य ४८ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ। यसअघि यसको अधिकतम खुद्रा मूल्य (एमआरपी) ५२ लाख ९९ हजार रुपैयाँ थियो।
त्यस्तै, ६१ किलोवाट–घण्टा ब्याट्री र १२८ किलोवाट क्षमताको मोटर रहेको ई–भिटारा जेटाको मूल्य ५२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। ई–भिटारा अल्फा भेरियन्टको मूल्य ५८ लाख ९९ हजार रुपैयाँ तथा डुअल–टोन फ्ल्यागसिप ई–भिटारा अल्फा डिटीको मूल्य ५९ लाख ४९ हजार रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार यी परिचयात्मक मूल्यहरू पहिलो १०० बुकिङका लागि मात्र लागू हुनेछन्। बजेटपछिको संशोधित मूल्य भने सबै नयाँ बुकिङ तथा अपूर्ण अर्डरमा तत्काल लागू गरिएको छ।
कम्पनीका प्रबन्ध निर्देशक करण चौधरीले सरकारले विद्युतीय सवारीसाधनलाई थप सुलभ बनाउने उद्देश्यले गरेको नीतिगत परिवर्तनको लाभ ग्राहकसम्म पूर्ण रूपमा पुर्याउनु कम्पनीको दायित्व भएको बताए।
नेपाल विश्वमै तीव्र गतिमा विद्युतीय सवारीसाधन अपनाउने मुलुकमध्ये एक रहेको उल्लेख गर्दै कम्पनीले ई–भिटारालाई विभिन्न मूल्य वर्गका ग्राहकलाई लक्षित गरी बजारमा ल्याइएको जनाएको छ।
कम्पनीका अनुसार ई–भिटारा नेपालकै पहिलो जापानी ब्याट्री–इलेक्ट्रिक सवारी हो।
हाल कम्पनीले देशभर २५ वटा बिक्री केन्द्र, ४० वटा बिक्रीपछिका सेवा केन्द्र तथा दक्ष ईभी प्राविधिकमार्फत सेवा प्रदान गर्दै आएको जनाएको छ।