×

सोमबार मौद्रिक नीतिमाथि बृहत् छलफल गर्दै राष्ट्र बैंक

images

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार आगामी आर्थिक वर्षको मौद्रिक नीतिमाथि बृहत् छलफल गर्ने भएको छ । अर्थतन्त्र संकटबाट गुज्रिएको बेला केन्द्रीय बैंकले ल्याउन लागेको मौद्रिक नीतिमाथि सरोकारवालासँग बृहत् छलफल कार्यक्रम गर्न थालेको हो । 

अहिले निकै संयमित भएर मौद्रिक नीति ल्याउनुपर्ने दबाबमा केन्द्रीय बैंक छ । तर, आगामी आर्थिक वर्षको बजेट विस्तारकारी आएकाले केन्द्रीय बैंक झन् दबाबमा छ ।

एकातिर अन्तर्राष्ट्रिय मुद्रा कोषले बजेटलाई बेवास्ता गर्दै मौद्रिक नीति ल्याउन सुझाइरहेको छ भने अर्कोतिर विस्तारकारी बजेट आएको छ । यस्तो बेला सरकारलाई पनि चिढ्याउनु भएको छैन भने अर्कोतिर अर्थतन्त्र पनि जोगाउनुपर्ने दायित्व केन्द्रीय बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि छ । 

यही विषयमाथि छलफल गर्न सोमबार केन्द्रीय बैंकले अलफ्ट होटलमा सोमबार बिहान कार्यक्रम राखेको छ । उक्त कार्यक्रममा निजी क्षेत्रका तीनवटै संगठनका प्रतिनिधि, बैंकर्स एसोसिएसनबाट पाँच जना, बैंक तथा वित्तीय संस्था परिसंघबाट पनि बोलाइएको छ ।

केन्द्रीय बैंक मौद्रिक नीति सार्वजनिक गर्ने दिन नजिकिँदै गएसँगै व्यापक छलफलमा जुटेको हो । 

केन्द्रीय बैंकका गभर्नर अधिकारीले मौद्रिक नीति विस्तारकारीभन्दा पनि कसिलो आउने संकेत गरिरहेका छन् । अहिलेको अर्थतन्त्रले विस्तारकारी मौद्रिक नीतिभन्दा कसिलो नीति चाहिएको र केन्द्रीय बैंक सोहीअनुरुप अघि बढेको सार्वजनिक कार्यक्रममा बताउँदै आएका छन् । 

बजेट राजनीति दस्तावेज भएको र मन्त्रीहरु बढी बाँड्न रुचाउने र केन्द्रीय बैंक अलि अनुदार बन्नुपर्ने बेला आएको मुद्रा कोषकाे भनाइ छ । 

आइतबार​ १९ असार २०७९ ०५:५७ PM मा प्रकाशित

प्रतिक्रिया