काठमाडौं । डेनमार्कको वेभरेज कम्पनी काल्सवर्गमाथि लामो समयदेखि संयुक्त लगानी (ज्वाइन्ट भेन्चर) कम्पनी सञ्चालनको विषयलाई लिएर विरोधहरु हुँदै आइरहेको छ । काल्सवर्गको भारतीय साझेदारलाई कम्पनी सञ्चालनको तरिकामाथि गम्भीर चिन्ता व्यक्त गर्दै खेतान समूहले ‘गभर्नेन्स स्ट्याण्डर्ड’ सुधार गर्न भनेको छ ।
यस्तै कम्पनीकै अर्को नेपाली साझेदार खेतान समूहले त काल्सवर्ग इन्डियाको व्यावसायिक अभ्यासलाई लिएर २०१९ देखि असहमति जनाउँदै आइरहेको छ । यसैबीच खेतान समूहको प्रतिनिधिले काल्सवर्ग भारतको कार्यशैलीविरुद्ध औपचारिक रुपमा चिन्ता व्यक्त गर्दै संस्थागत सुशासन नभएको र अनियमितता भएको आरोप लगाइसकेको छ ।
विवाद सुरु भएदेखि आफ्नो पहिलो सार्वजनिक प्रतिक्रियामा राख्दै खेतान समूहले आफ्नो ज्वाइन्ट भेन्चर साझेदारसँग व्यवसायको दीर्घकालीन स्वार्थलाई ध्यानमा राखी काम गर्न र गभर्नेन्स सुधार गरी आफ्नो साझेदारको अडानलाई समेत सम्मान गर्न भनेको थियो । यो विवाद हालसम्म पनि कायम गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
काल्सवर्ग भारतको सबैभन्दा ठूलो वियर कम्पनीमध्ये एक हो । ७ अर्ब डलरको यो डेनमार्कको कम्पनीमा भारतीय साझेदारको १७ प्रतिशत लगानी छ । काल्सवर्ग भारतमा खेतान समूहका चन्द्रप्रकाश खेतानको लगानी रहेको छ । उनी सिंगापुर बसेर नेपाल र भारतको व्यवसाय हेर्छन् ।
खेतान समूहले आफ्नो वक्तव्यमा गभर्नेन्सकै विषयका कारण काल्सवर्ग भारतका अडिटरले राजीनामा दिएको भन्दै आशंका व्यक्त गरेको छ । साथै कम्पनीको अकाउन्टमा भारतीय प्रशासनको निगरानीमाथि पनि खेतान समूहले ध्यानाकर्षण गरेको छ ।
खेतान समूहले धेरै वर्षदेखि कम्पनीको भारतीय बिजनेसमा अनियमितता र अवैधानिक कार्यहरुको आफूले आशंका गर्दै आइरहेको बताएको छ । तर, समूहले कुनै प्रमाण भने पेश गरेको छैन ।
काल्सवर्गमाथि भारतको एन्टीट्रस्ट प्रशासनले हाल अनुसन्धान चलाइरहेको छ । कम्पनीले काल्सवर्ग वियरको मूल्य निर्धारण गर्न अन्य वियर कम्पनीहरुसँग अवैधानिक तरिकाले गोप्यरुपमा साझेदारी गरेको सन् २०२० मा बाहिर आएको थियो ।