काठमाडौं । भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठ र नेपालका लागि इजरायली राजदूत हनान गोडरबीच शुक्रबार शिष्टाचार भेटवार्ता भएको छ ।
भेटमा मन्त्री श्रेष्ठले नेपाल र इजरायलबीच कुटनीतिक सम्बन्ध विस्तार भएको ६ दशक भन्दा लामो समयमा पारस्परिक सहयोग, सद्भावना, समझदारी र मैत्रीपूर्ण सम्बन्ध प्रगाढ भएको र द्विपक्षीय सम्बन्ध विकासका विभिन्न विधासँगै सहयोगका क्षेत्रमा विस्तार भएको बताइन् ।
इजरायले सहकारीका माध्यमबाट गरेको समृद्धिबाट नेपालले धेरै कुरा सिक्न सक्ने उनको भनाइ छ ।
मन्त्री श्रेष्ठले यसवर्षको नीति तथा कार्यक्रम र बजेटमा समेत उत्पादनलाई जोड दिएर बजेट व्यवस्था गरेको भन्दै यसमा प्रविधिलाई जोडेर आगाडि बढ्ने कुरामा सरकार लागिरहेको पनि बताइन् ।
मन्त्रालयले भूमि व्यवस्थापन, सहकारी र गरिवी निवारणका विविध क्षेत्रमा काम गरिरहेको भन्दै मन्त्री श्रेष्ठले यी तीनवटै क्षेत्रमा महत्वपूर्ण नीति तथा कार्यक्रमको सुरुवात गरेको जानकारी दिइन् ।
भेटमा इजरायली राजदूत हनान गोडरले नेपालको भूमि व्यवस्थापन र कृषि विकासमा प्रविधिको भूमिका महत्वपूण हुने भन्दै नेपाल प्राकृतिक र कृषिमा धेरै संभावना भएको देश भएकाले इजरायलले गरेको प्रविधिको प्रयोग नेपालका लागि पनि उपयोगी हुने बताए ।
उनले नेपालको कृषि क्षेत्रको विकासमा प्रविधिको प्रयोग र जनशक्ति विकासमा इजरायलले सहयोग गर्दै आएको र नेपालको विकासमा सहयोग गर्दै दुई देशबीचको सम्बन्ध अझै सुमधुर बनाइ राख्न आफूहरु लागिरहेको पनि बताए ।