मङ्गलबार, कात्तिक २ २०७८ ०६:०४ AM

×

विराटनगर बन्यो सुनसान, जोगबनीमा गुल्जार 

images

विराटनगर । विराटनगरको महावीर रोडमा रहेको  अशोक वस्त्रालयका सञ्चालक अशोक सिंह ग्राहकको पर्खाइमा बसिरहन्छन् । कोरोनाको महामारीमा पनि उनको पसलबाट केही नहुँदा दैनिक १० देखि १५ हजार रुपैयाँसम्मको सामान बिक्री हुन्थ्यो । जुन  बेला विराटनगरको जोगवनी नाका बन्द थियो ।  

कोरोनाको जोखिम केही हदसम्म कम भएसँगै प्रशासनले जोगवनी नाका सर्वसाधारणका लागि खुला गर्यो । त्यसपछि विराटनगरको बजार ठप्प जस्तै भएको छ । ‘आकल झुकल ग्राहक आउँछन्, त्यही पनि महँगो भयो भन्दै छाडेर जान्छन्’, उनले भने, ‘बरु जोगवनी गयो भने दुईजोर कपडा आउँछ भन्दै हिँड्छन् ।’

आफूहरुले भन्सार तिरेर ल्याउनुपर्दा कपडा केही महँगो हुने उनले बताए । भन्सार नतिरी ल्याउनेहरुका लागि जोगवनीमा जस्तो हुने उनको भनाइ छ । ‘महिलाहरुको महान पर्व हरितालिका तीजमा पनि धेरै साडीहरु बिक्री हुने गरेको थियो । तर जोगवनी खुलेसँगै सर्वसाधारण जोगवनी नै जान्छन्’, उनले भने । 

कोरोना महामारीमा केही व्यक्तिहरु लुकीछिपी गए पनि धेरैले विराटनगर बजारमा नै किन्ने गरेका कारण व्यापार भएको सिंहको भनाइ छ । अहिले त थोरै पैसा होस या धेरै पैसाको सामान किन्नको लागि जोगवनी नै जानाले स्थानीय बजारका व्यापारीहरु भने ग्राहकको पर्खाईमा नै दिन बिताउने गरेका छन् । 

झन्डै १८ महिनापछि विराटनगरको रानी नाका सर्वसाधारणका लागि खोलिएको थियो ।  नाका खोलिएसँगै भारतीय जोगबनी बजारमा नेपाली उपभोक्ताहरुको भीड लाग्ने गरेको छ । जोगवनी बजारका व्यापारिहरुको ग्राहक पनि बढी नेपाली नै भएका कारण उनीहरु नाका खुलेपछि उत्साहित भएका छन् । तर, विराटनगरका व्यवसायीलाई भने असर पुगेको छ ।  

विराटनगर महावीर रोडमा नै विगत सात बर्षदेखि सञ्चालनमा रहेको सुभ इम्पोरियमका सञ्चालक  राजकुमार शाह विराटनगरको बजारलाई चलायमान बनाउनका लागि स्थानीय सरकारले केही नीति ल्याउनुपर्ने बताउँछन् । 

‘कोरोना महामारीको बेलामा धेरै जसो जोगवनी नै पुग्ने गरेको भए पनि विराटनगरको बजारलाई असर गरेको थिएन’, उनले भने कपडा पसलहरु त महामारीको बेलामा धेरै समय बन्द नै भयो, यसले नी व्यापारीलाई घाटा भयो, अहिले जोगवनी नाका खुल्यो, चाडपर्वको समयमा पनि व्यापार छैन, हामीलाई घर भाडा तिर्न नै समस्या हुने भइसकेको छ ।’ 

नाका बन्द हुँदा व्यापार राम्रै भएको उनको भनाइ छ । नाका खुलेपछि ग्राहक आउँछन् कि आउँदैनन् भनेर पर्खेर बस्नुपरेको उनले बताए । कोरोना समयमा पनि पसल खुलेपछि राम्रै चलेको व्यापार नाका खुलेपछि आधा घटेको शाहको भनाइ छ ।

सरकारले जोगवनीबाट सामान ल्याउनेलाई राजस्वको दायरामा ल्याउनुपर्ने बताए । राजस्व नतिरी सामान ल्याउन नदिने हो भने जोगवनी बजारमा जाने नेपालीहरुको संख्या घट्ने उनको बुझाइ छ । 

जोगवनी जानेले कपडा, खाद्यान्नदेखि श्रृङ्गारका सामानहरु पनि उतैबाट ल्याउने भएकाले विराटनगरका धेरै व्यापारीहरुलाई असर परिरहेको छ ।

विराटगनर तीनपैनीकी दक्षिणकाली स्टोरकी सञ्चालक निर्मला घिमिरे पनि नाक बन्द हुँदा राम्रो व्यापार भए पनि अहिले खुलेपछि व्यापार नै नभएको बताउछिन् । तीजमा चुरा पोतेहरु बिक्री हुने समय भए पनि मुस्किलले दिनको २÷३ हजारको मात्र व्यापार हुने गरेको उनको भनाइ छ । 


 

आइतबार​ २० भदौ २०७८ ०५:४२ PM मा प्रकाशित

प्रतिक्रिया