×

वाणिज्य बैंकहरुले गरे ७५ अर्ब नाफा, ग्लोबल आइएमई बन्यो पहिलो, दोस्रोमा एनआईसी एसिया 

images

काठमाडौं । गत आर्थिक वर्ष ०७८/०७९ मा वाणिज्य बैंकहरुको खुदनाफा २२.९९ प्रतिशतले बढेको छ । सञ्चालनमा रहेका २६ वाणिज्य बैंकहरुले कुल ७४ अर्ब ७६ करोड रुपैयाँ खुदनाफा गरेका छन ।

अघिल्लो आर्थिक वर्षमा वाणिज्य बैंकहरुले ६० अर्ब २८ करोड रुपैयाँ खुदनाफा गरेका थिए । एक वर्षको अवधिमा वाणिज्य बैंकहरुको खुदनाफा १४ अर्ब ३८ करोड रुपैयाँ बढेको सार्वजनिक गरिएको वित्तीय विवरणले देखाएको छ । 

नेपाल राष्ट्र बैंकले अन्तिम त्रैयमास सकिएको ३ साताभित्र वित्तीय विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ । सोहीअनुसार साउन २१ गते शनिबारसम्म २६ वटै वाणिज्य बैंकहरुले आफ्नो वित्तीय विवरणहरु सार्वजनिक गरेका हुन् । 

वित्तीय विवरण सार्वजनिक गर्ने २६ वाणिज्य बैंकमध्येमा अधिकांश सूचकमा नबिल बैंक अग्रता कायम गरेको छ । नबिल बैंकले नेपाल बंगलादेश (एनबी) बैंकलाई प्राप्ति गरेर साउन १ गतेदेखि एकीकृत कारोबार सुरु गरेको छ ।

नबिल बैंकले एनबीको सबै नाफा नदेखाएर सञ्चित कोषमा राखेको छ । एनबीको पनि नाफा देखाउने हो भने सबैभन्दा बढी खुदनाफा गर्नेमा नबिलनै हुन्छ । एनबीको समेत जोड्दा नबिलको खुदनाफा ५ अर्ब ८० करोड रुपैयाँ हारहारीमा रहेको छ । एनबीलाई प्राप्त गरेपछि नबिलको सेयरधनीहरुलाई लाभांश दिने क्षमता बढेर ४० प्रतिशत पुगेको बैंकले जनाएको छ । 

वित्तीय विवरण सार्वजनिक गर्ने वाणिज्य बैंकमध्ये २३ को खुदनाफा बढेको छ भने सानिमा बैंक, हिमालयन बैंक र कृषि विकास बैंकको नाफा घटेको छ । 

गत आर्थिक वर्षमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत बैंकहरु मध्ये सबै भन्दा बढी नाफा गर्नेमा ग्लोबल आइएमई बैंक भएको छ । यद्यपि सबैभन्दा बढी नाफा सरकार स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको छ । वाणिज्य बैंकको खुदनाफा ५ अर्ब २१ करोड रुपैयाँ छ ।
जनता बैंकलाई समाहित गरेपछि ग्लोबल आइएमई बैंकको वित्तीय सूचकका ग्राफहरु उकालो लागेका छन् ।

ग्लोबलले हालसम्म २० वटा बैंक तथा वित्तीय संस्थाहरुलाई आफूमा समाहित गरिसकेको छ । ग्लोबलले बैंक अफ काठमाण्डु (बीओके) लाई समान हैसियतमा गाभ्न समझदारी (एमओयू) गरेको छ ।  गत वर्ष ग्लोबलले सर्वाधिक ५ अर्ब २० करोड रुपैयाँ खुदनाफा गरेको छ ।

त्यस्तै दोस्रोमा एनआईसी एसिया बैंक भएको छ । एनआईसीले ४ अर्ब ५२ करोड रुपैयाँ खुदनाफा गरेको छ । सेञ्चुरी कमर्सियलले सबैभन्दा कम १ अर्ब ३५ करोड रुपैयाँ खुद नाफा गरेको छ । नाफाको आधारमा सेञ्चुरी कमर्सियल बैंक पुछारमा पुगेको छ । 

कुन बैंकको नाफा कति ? 


 

शनिबार २१ साउन २०७९ १०:४० AM मा प्रकाशित

प्रतिक्रिया