×

म्याग्दीमा दसैंमा भित्रियो ४० करोड रेमिट्यान्स

images

गलेश्वर  । म्याग्दीबाट वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा गएका म्याग्देलीले  दसैंमा मात्रै ४० करोडभन्दा बढी रेमिट्यान्स पठाएका छन् । पितृपक्ष (सोह्र श्राद्ध) को अष्टमी तिथिदेखि दसैंको फुलपातीको अघिल्लो दिन (षष्ठी)सम्म ४० करोड १३ लाख रेमिट्यान्स भित्रिएको यहाँका बैंक तथा वित्तीय संस्थाले जनाएका छन् ।

विदेशमा रहेका व्यक्तिले चाडपर्वमा लक्षित गर्दै घरायसी प्रयोजन र चाडपर्वमा खर्च गर्नका लागि उक्त रकम पठाएका सेवा प्रदायक संस्थाले जनाएका छन् । जिल्ला सदरमुकाम बेनीबजार तथा ग्रामीण क्षेत्रमा शाखा सञ्चालन गरेका वित्तीय संस्थाले दिएको जानकारी अनुसार विगत वर्षको तुलनामा यसवर्ष रेमिट्यान्स कम भित्रिए पनि चाडपर्वमा आउने क्रम भने रोकिएको छैन । जिल्लामा भित्रिएको रेमिट्यान्सको ठूलो हिस्सा चाडपर्वमा घरखर्च, लत्ता कपडालगायतका अनुत्पादक क्षेत्रमा खर्च हुने गरेको छ । 

यहाँका बैंक तथा वित्तीय संस्थाले सदरमुकाम बेनी बजारसहित जिल्लाका सबै छवटै  स्थानीय तहमा शाखा सञ्चालन गरेर सेवा प्रदान गरिरहेका छन् । पछिल्लो समय डिजिटल प्रविधिको प्रयोगले विदेशबाट सिधै खातामा जम्मा हुने भएकाले पनि रेमिटको प्रवाहमा भएको वित्तीय संस्थाका प्रतिनिधिको भनाइ रहेको छ ।

म्याग्दीका ६ वटै स्थानीय तहमा शाखा रहेको प्रभु बैंक, ४ वटा शाखा रहेको गरिमा विकास बैंक, पश्चिम नेपाल सहकारी, धाैलागिरि सहकारी, बेनी बचत तथा तथा ऋण सहकारी, लोकदीप सहकारी संस्थालगायत एक दर्जन सहकारीले ४ करोड वढी रेमिट भुक्तानी गरेको जनाएका छन् ।

ग्लोबल आईएमई बैंक, माछापुच्छ«े, प्रभु, कैलाश विकास बैंक, राष्ट्रिय वाणिज्य बैंकलगायतका बैंकले पनि रेमिट भुक्तानी गरेका छन् । जिल्लाका बैंक तथा वित्तीय संस्थाबाहेक अघोषित रुपमा हुण्डीबाटसमेत दसैंखर्च भित्रिने भएकाले चाडपर्वमा यो रकमभन्दा निकै धेरै रकम भित्रिएको अनुमान गरिएको छ ।

म्याग्दीमा करिब ६० प्रतिशतभन्दा बढी रकम खाडी मुलुकबाट मात्रै भित्रिने गरेको छ । कतार, साउदी अरब, यूएई, दक्षिण कोरिया, जापान, भारत, मलेशियालगायत विभिन्न देशबाट रकम भित्रिने गरेको छ । रेमिट्यान्सबाट आएको रकम अपभोग्य विलासिताका सामान खरिद र बालबालिकाको शिक्षादीक्षामा खर्च हुने गरेकाले पनि उत्पादनमूलक क्षेत्रमा निकै न्यून लगानी हुने गरेको बैंक तथा वित्तीय क्षेत्रका जानकार बताउँछन् ।

जिल्लामा निर्यातभन्दा आयात बढी भएकाले पनि यहाँ वार्षिक करिब ४ अर्बको हाराहारीमा रेमिट्यान्स भित्रिने गरेको भए पनि विभिन्न माध्यमबाट सो रकम बाहिरिने गरेको छ । म्याग्दीको प्रमुख आयस्रोत नै रेमिट्यान्स रहेको छ । 

पछिल्लो समय रेमिट्यान्सबाट आएको रकम जिल्लाको विकासमा समेत लागानी गर्न थालिएको छ । म्याग्दीबाट करिब  ३० हजारभन्दा धेरै युवा र प्रौढ वैदेशिक रोजगारीमा रहेका छन् ।

बिहीबार २० असोज २०७९ ०४:५९ PM मा प्रकाशित

प्रतिक्रिया