×

जलवायु परिवर्तनले कृषि, जलविद्युत् र पर्यटनमा ठूलो असर गर्ने देखिएको छ 

images

जलवायु परिवर्तनबारे वन तथा वातावरण मन्त्रालयले नेपालको राष्ट्रिय अनुकूलन योजना (नेपाल एडाप्टेसन प्लान–नाप)मा विस्तृत अध्ययन गरेको छ । अध्ययनले जलवायु परिवर्तनको सबैभन्दा धेरै असर कृषिमै पर्छ भनेर देखाइएको छ ।

विगतमा कतिपय ठाउँमा सही समयमा पर्याप्त मात्रामा वर्षा हुँदा ती ठाउँहरूमा एक किसिमको कृषिउपज पनि राम्रै फल्थ्यो । अहिले त्यस्ता ठाउँहरू विशेषगरी चुरे तथा सुदूरपश्चिमका कतिपय जिल्लाहरूमा समयमा वर्षात् नभई बादल फाट्ने (क्लाउड ब्रस्टिङ) हुने गरेको छ । 

उच्च हिमाली क्षेत्र जुम्ला÷हुम्लामा समयमा हिउँ नपरेका कारण त्यहाँ राम्रोसँग बाली हुन सकेको छैन । जलवायु परिवर्तनको कारणले बालीनालीको प्रकृतिमा फरक परेर बिउको प्रकृति नै परिवर्तन गर्न पर्यो । बिउ परिवर्तन गरेर मात्र पनि नपुग्ने अवस्था आएपछि परिवर्तित मौसमअनुसार बालीको प्रकृति परिवर्तन गर्न थालिएको छ ।

मनसुनमा निर्भर हाम्रो अर्थतन्त्र पहाडी तथा हिमाली क्षेत्रमा सिँचाइको व्यवस्था नभएकाले वर्षा तथा हिउँ नै त्यहाँको सिँचाइको स्रोत हो । जलवायु परिवर्तनले सबैभन्दा धेरै पानीको स्रोतलाई असर गर्ने गरेको छ । 

डोल्पाको जुफाल विमानस्थल पारिपट्टिको एउटा गाउँ ३०/४० वर्षअघि हराभरा र राम्रो थियो । त्यहाँ घरायसी इन्धनका रुपमा जंगलबाट दाउरा काटेर ल्याउने र प्रयोग गर्ने गरिन्थ्यो । जसको परिणाम जंगल बिस्तारै घट्दै गयो । त्यसको असर हिउँ पर्ने समयमा देखिन थाल्यो र विस्तारै पानीको स्रोत सुक्दै गयो ।

नेपालमा समयमा पानी नपरेको अथवा सुक्खायाम लम्बिँदा र हाम्रै गतिविधिका कारण पनि धेरै ठाउँमा पानीको स्रोत सुकेको छ । यसरी पानीको स्रोत सुक्दा आम जनजीवनमा असर पारेका कारण मानिसहरू बसाई सर्न मात्रै थालेनन् सम्पन्न मानिसहरू पनि विस्तारै विपन्न बन्दै जाने स्थिति सिर्जना भयो ।

जलवायु परिवर्तन र त्यसको असरलाई न्यूनीकरण गर्न बस्तीहरूमा खानेपानीको स्रोत सुनिश्चित गर्न के तराई के पहाड तालतलैयाहरू बनाउने र संरक्षण गर्नुपर्छ भन्ने आवाज मुखरित हुन थालेको छ । नापले यस्ता कार्यक्रमहरूमा जोड दिँदै आएको छ र सरकारले पनि त्यसैअनुरुप योजनाहरू ल्याउन थालिएको छ । 

पछिल्ला केही वर्षहरूलाई हेर्ने हो भने हिमतालहरू फाटिरहेका छन् र फुट्ने खतरा बढेको पनि छ । नेपालमा हिमतालहरूको संख्या कति छ भनेर अहिलेसम्म तथ्यांक लिइएको त छैन । तर, हिमताल तथा हिमनदी फुट्दा अप्रत्यासित रुपमा बाढी तथा पहिरोको प्रकोप बढ्न थालेको छ । सिन्धुपाल्चोक जिल्लामा देखिएको बाढीपहिरो त्यसैको उपज हो ।

सेतीनदीमा बाढी आउँदा पोखराभन्दा माथिको बजार नै बगायो । खासगरी हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण हिउँ पग्लिएर अप्रत्याशित बाढी आउने घातक प्रभाव देखिएको छ । जसले जनधन, खेती, व्यवसाय सबैमा असर पारेको छ । 

ख्याल नगरिएको तर, अलग्गै रुपमा प्रभाव पार्ने क्षेत्रभित्र पर्छ जलविद्युत् उत्पादन । नेपालमा जलविद्युत् उत्पादनको प्रक्रियाले तीव्रता पाएको छ । तर, अहिलेसम्म कुलेखानीबाहेकका जलविद्युत् आयोजना नदी प्रवाही छन् । अर्थात् कुलेखानीबाहेकका परियोजना नदीमा पानी आउँदा जलविद्युत् उत्पादन हुन्छ पानी नआउँदा हुँदैन ।

पानीको मात्राअनुसार विद्युत् कम उत्पादन हुन्छ । जलवायु परिवर्तनका कारणले पानी बेमौसममा पर्ने, परिमाण पनि कुनै समयमा कम हुने, ज्यादै धेरै हुँदा आयोजना नै बगाउने, बाँध नै फुट्ने, कम पर्दा पानीको सतह नै घटेर विद्युत् उत्पादन कमी आउने अवस्था हुन्छ ।

भोटेकोसी आयोजना बाढीले बगायो, कालीगण्डकी र मस्र्याङ्दीमा पानीको सतह घट्दा विद्युत् उत्पादन नै कम हुने गरेको छ । नेपालमा जलविद्युत् उत्पादन गर्ने नदी प्रवाही आयोजनाहरू धेरै भएका कारण जलवायु परिवर्तनले ठूलो असर पार्ने क्षेत्रमध्ये जलस्रोत पनि एक हो । 

नेपालको पर्यटन भनेको यहाँको प्राकृतिक सौन्दर्यता हो । प्राकृतिक सौन्दर्यता हेर्न भनेरै धेरै विदेशीहरू नेपाल आउँछन् । मानव निर्मित कृत्रिम सौन्दर्यता नभएको नेपालमा पर्यटकहरू हिमाल हेर्न, पदयात्रा गर्न र पर्यावरण पर्यटनका लागि आउने गर्छन् ।

जलवायु परिवर्तन भएर हिमाल सुके, रारा तथा पोखराका तालहरू सुके, पदयात्रा गर्ने ठाउँमा रुखहरू भएन, खानेपानीको स्रोत सुक्यो भने पर्यटन पनि सुक्छ । कुल गार्हस्थ उत्पादनमा ७ प्रतिशत हिस्सा रहेको पर्यटन क्षेत्र रोजगारीको राम्रो स्रोत पनि हो ।

पछिल्लो समय वैज्ञानिकहरूले तापक्रम वृद्धिको मुद्दालाई जोडतोडले उठाइरहेका छन् । उनीहरूले अहिलेको तापमानबाट १.५ डिग्री तापक्रम थप बढेको खण्डमा पृथ्वीले थेग्न सक्दैन भनेर भनिरहेका छन् । वैज्ञानिकहरूको भनाइ यथार्थतामा परिवर्तन भए नेपालजस्ता मुलुकमा जलवायु परिवर्तनको असर गम्भीर रुपमा पर्छ ।

बस्तीहरू असुरक्षित भएर पर्यावरणीय (इकोलोजिकल) शरणार्थी बढ्ने देखिन्छ । खप्तडमा एउटा पहिरो जाँदा गाउँ नै विस्थापित भयो । जलवायु परिवर्तनले आन्तरिक शरणार्थी बढाउने सम्भावना देखाइरहेको छ । जुन आगामी दिनमा ठूलो समस्याका रुपमा देखिनेछ । 

जलवायु परिवर्तन वैश्विक मुद्दा हो । तर, यसमा हाम्रो पनि दायित्व छ । हामीले आफ्नो दायित्व राम्रोसँग पूरा गर्यौं भने ठूला तथा सम्पन्न मुलुकहरूले गरेको क्षतिमा बलियो अडानसहित कुरा गर्न सक्छौं । हाम्रो दायित्व भनेको हाम्रै आफ्ना क्रियाकलापले तापक्रम वृद्धिमा गरिरहेको सहयोगलाई न्यूनीकरण गर्नु हो । 

राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालमा ६८ प्रतिशत घरधुरीले ऊर्जा तथा इन्धनका रुपमा दाउराको प्रयोग गर्छन् । दाउरा बाल्दा उत्सर्जन हुने धुवाँले पनि तापक्रम वृद्धि गराइरहेको छ । जलस्रोतको धनी देशका रुपमा परिचय बनाएको नेपालले परम्परागत इन्धनको सट्टा सफा ऊर्जा (क्लिन इनर्जी) प्रयोग गर्नुपर्छ । सरकारले यसतर्फ लगानी गरेर आफ्नो दायित्व पूरा गर्नुपर्छ । 

नेपालमा पशुपालन जथाभावी हुने गरेको छ र तीनको मलले पनि प्रदूषण बढेको छ भनिन्छ । गाई वस्तुको गोबर मलमा मिथेन ग्यास हुन्छ, जुन सामान्य कार्बनभन्दा हानिकारक हुन्छ । त्यसैले यस्ता ‘लाइभस्टक पार्किङ’लाई व्यवस्थित गर्नुपर्छ । पछिल्ला वर्षहरूमा हरियाणा, पञ्जाबमा पराल बालेका कारण दिल्ली प्रदूषित भइरहेको छ ।

त्यसैले कृषिका माध्यमबाट उत्सर्जित मिथेन ग्यासका कारण हाम्रो जनस्वास्थ्यमा गम्भीर असर गरिरहेको छ । कृषिबाट निस्केको सामानलाई व्यवस्थित गर्दै जान सकिए अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो अडान स्पष्ट राख्न सहज हुन्छ ।

(खनाल पूर्वअर्थसचिव हुन) 

मङ्गलबार २१ मंसिर २०७८ ०७:४५ AM मा प्रकाशित

प्रतिक्रिया