काठमाडौं । भोल्यूममा सेयर किनबेच गर्ने ठूला लगानीकर्ता सेयर बजारमा नफर्किँदा सेयर बजार निरन्तर ओरालो यात्रामा छ । केन्द्रीय बैंकले ठूला लगानीकर्तालाई बजारबाट पलायन गराउने गरी मौद्रिक नीति जारी गरेपछि घट्न थालेको सेयर बजार निरन्तर घट्दो क्रममा छ ।
सीमित व्यक्तिले बैंकबाट मार्जिक कर्जा लिने र सेयर किन्ने गरेको भन्दै केन्द्रीय बैंकले मार्जिक कर्जामा सीमा लगाए पछि त्यसको असर बजारमा परेको हो । ठूला लगानीकर्ता सेयर बजार वृद्धिका लागि मेरुदण्ड हुन् । त्यही मेरुदण्डमाथि केन्द्रीय बैंकले नीतिगत डण्डा चलाएपछि उनीहरु अझै बजारमा फर्किएका छैनन् ।
उनीहरु अहिले पनि सेयर बेचेर बैंकको ऋण तिरिरहेका छन् । साना लगानीकर्ताले बजार थेग्न सक्दैनन् । किनभने उनीहरु भोल्यूममा सेयर किनबेच गर्दैनन् । लाखौं लाख कित्ता सेयर किन्ने ठूला लगानीकर्ता नै हुन् । उनीहरुलाई केन्द्रीय बैंकले पलायन गराउन खोजेकाले बजार निरन्तर घटेको हो ।
केन्द्रीय बैंकले मार्जिक कर्जाको सीमा ४ र १२ करोडमा सीमित गरे पछि बैंकबाट स्वीकृत भएको सीमाभन्दा बढी भएको ओभर ड्राफ्ट लोन नदिने तथा लगिसकेकालाई पनि सीमाभित्र ल्याउन दबाब दिएपछि बजार घट्न थालेको हो ।
साना सेयर लगानीकर्ताको पहुँच बैंकसँग हुँदैन । मध्यम र ठूला लगानीकर्ता मात्रै बैकिङ पहुँचमा छन् । मध्यम लगानीकर्ताको ऋण अहिले पनि १२ करोडभन्दा बढी छैन् । तर, ठूला लगानीकर्ताको ऋण २० करोड रुपैयाँभन्दा माथि २ अर्ब रुपैयाँसम्म छ ।
केन्द्रीय बैंकले बजारलाई नकारात्मक रुपमा लिएको बुझेँपछि ठूला लगानीकर्ताले एक महिनाकै बीचमा ठूलो सेयर बेचिसकेका छन् । उनीहरु सेयर बेचेर बाहिरिएको केही दिन पनि बजार निरन्तर खसेको हो ।
केन्द्रीय बैंकको नीतिलाई सच्याउन सेयर लगानीकर्ताले सडक तथा उच्च स्तरीय भेटघाटलाई तीब्रता दिएका छन् । अर्थमन्त्रीदेखि गभर्नरसम्मलाई भेटेर निर्णय सच्याउन भने पनि कुनै सुनुवाई नभए पछि अहिले सेयर लगानीकर्ता सडकमा ओर्लिएका छन् ।
बुधबार अल्पकालीन कारोबारी हावी भएकाले बजार टिक्न सकेन । बजार घटेका बेला सेयर कारोबार रकम कम हुँदै गएको छ । बजार घटेका बेला कारोबार कम घट्दै गएकाले पेनिक सेल नभएको अनुमान गरिएको छ । बजार घटेका बेला कारोबार रकम घट्नुले बजार फेरि माथि जाने पर्याप्त आधार देखिएको कतिपय विश्लेषकहरुको भनाइ छ ।
यसले आत्तिएर सेयर बिक्री भइरहेको छैन । सेयर होल्ड गर्नेहरु बढी छन् भन्ने देखाउँछ । यसबाहेक सेयर बजारका लगानीकर्ताको मनोविज्ञान सकारात्मक हुन आवश्यक छ । घटेको बजार फेरि बढ्छ भनेर विश्वस्त हुन आवश्यक छ ।
नेप्से सूचक करिब ३२ सय विन्दुमा पुगेपछि नाफा बुक गर्नेहरु सक्रिय भए । यही बेला केन्द्रीय बैंकले १२ करोडको सीमा पनि ल्यायो । यस्तै, यति नै बेला वित्तीय प्रणालीमा अधिक तरलताको अवस्थामा संकुचन आएको खबरहरु सार्वजनिक हुन पुग्यो । यी सूचनाहरु नै सेयर बजार प्रभावित बनाउने मुख्य पक्ष हुन् । यसबाहेक केही हदसम्म बजारमा नियमित करेक्सन पनि भएको हो ।
बुधबार ६०.०२ अंकले घटेर २८७६.५९ मा आइपुग्यो । यसदिन सबैभन्दा धेरै लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालको ६ प्रतिशत घटेको छ । त्यसैगरी गुडविल फाइनान्सको ५ प्रतिशत घटेको छ । त्यसैगरी, सानिमा लाइफ १० प्रतिशत बढेको छ । त्यसैगरी, एक्सेल विकास बैंक ८.६० प्रतिशतले बढेको छ ।
बुधबार ६ अर्ब ६४ करोड ६६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । मंगलबारको भन्दा बुधबार कारोबार घटेको हो । मंगलबार ७ अर्ब ४९ करोड ५८ लाख रुपैयाँको सेयर किनबेच भएको छ । जबकी, सोमबार ९ अर्ब ८२ करोड रुपैयाँको सेयर किनबेच भएको थियो ।