मङ्गलबार, कात्तिक २ २०७८ ०४:०४ AM

×

सम्राट सिमेन्टमा विनोद चौधरी र माथिल्लो त्रिशूलीमा कोरियन कम्पनीको सेयर खरिद सम्झौता स्वीकृत 

images

काठमाडौं ।  सम्राट सिमेन्ट र २१६ मेगावाटको माथिल्लो त्रिशूली १ जलविद्युत आयोजनाको सेयर खरिदबिक्री सम्झौता स्वीकृत भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतमा लगानी बोर्डको शनिबार बसेको बैठकले सम्राट सिमेन्टको विनोद चौधरीको सीजी समूहले खरिद गरेको ३० प्रतिशत सेयर र नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीको १५ प्रतिशत सेयर खरिदबिक्री सम्झौतालाई स्वीकृत गरेको प्रवत्ता एवम सहसचिव सुरेन्द्र पौडेलले जानकारी दिए ।

 दाङको सतबरियामा रहेको यो सम्राटको मुकुन्द तिमिल्सिना र सुधीर तिमिल्सिनाको सेयर सिजी समूहले हालसालै किनेको हो । यस्तै माथिल्लो त्रिशूली १ आयोजनाको विकासकर्ता नेपाल वाटरबाट कोरियाको डेलिम इन्डिष्ट्रियल कम्पनी बाहिरिएपछि कोरिया इनर्जीले सो कम्पनीको १५ प्रतिशत स्वामित्व खरिद गरेको छ ।  

सीजीले सम्राटको ३० प्रतिशत स्वामित्व ३  अर्ब रुपैयाँमा खरिद गरेको हो ।  माथिल्लो त्रिशूलीको सेयर खरिदबिक्री रकम भने खुलाइएको छैन । बोर्डले स्वीकृति दिएकाले दुबै कम्पनीहरुलाई कम्पनी रजिष्ट्रारको कार्यालयमा  स्वामित्व हस्तान्तरणको काम पुरा गर्न बाटो खुलेको छ । सम्राटले आर्थिक वर्ष ०७४/०७५ देखि सिमेन्ट उत्पादन थालेको हो ।

माथिल्लो त्रिशूली १ आयोजना निर्माण सुरु भएको छ । आउँदो ६ वर्षमा आयोजनाबाट बिजुली उत्पादन हुनेछ । आयोजना बनाउन ७० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । काम सुरु भएको १ दशकपछि आयोजनाको निर्माण  सुरु भएको हो ।

आयोजनामा विश्व बैंक र कोरियन कम्पनीहरुको ९० प्रतिशत र बाँकी १० प्रतिशत नेपाली कम्पनी जेड कन्सल्टको स्वामित्व रहेको छ । ९ वटा विदेशी वित्तीय संस्थाहरुले झण्डै ५० अर्ब रुपैयाँ आयोजनामा ऋण लगानी सम्झौता गरेका छन् ।

शनिबार २३ असोज २०७८ ०३:२५ PM मा प्रकाशित

प्रतिक्रिया