×

लघुबिमाको लाइसेन्स खोल्ने तयारीमा बिमा समिति, प्रदेश तहबाट आवेदन माग्ने

images

काठमाडौं । गाउँमा बिमाको पहुँच बढाउन लघुबिमा कम्पनीको स्थापना हुने भएको छ । आगामी आर्थिक वर्ष ०७९/८० को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले विपन्न तहसम्म बिमाको पहुँच पुर्याउन लघुबिमा कम्पनी स्थापना गरिने जानकारी गराएका हुन् ।

सरकारले बजेटमार्फत घोषण गरेपछि बिमा समितिले नयाँ आउने लघुबिमा कम्पनीलाई पाइलट प्रोजेक्टको रुपमा अगाडि बढाउने गरी अध्ययन गरिरहेको छ । नयाँ आउने लघुबिमा कम्पनीलाई प्रदेशअन्तर्गत राखेर केही थोरै कम्पनीहरुलाई पाइलट प्रोजेक्टको रुपमा अगाडि बढाउने गरी अध्ययन भइरहेको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । 

‘लघु बिमा कम्पनीलाई प्रत्यक्ष रुपमा निगरानी गर्छौं । उनले भने, ‘उनीहरुले माइक्रो बाहेक अन्य व्यवसाय गर्न पाउँदैनन् । तर, नेपालभरिका स–साना क्षेत्रमा काम गर्न दिन्छौ ।’

सुरुमा लाइसेन्स वितरणका लागि आवेदन आह्वान गरिने पौडेलले जानकारी दिए । उनका अनुसार लघुबिमा कम्पनीलाई नेपालभर काम गर्ने गरी लाइसेन्स वितरण गछौं, पौडेलले भने । 

उनले नेपालभर काम गर्दा प्रादेशिक स्तरबाट लाइसेन्स दिने बताए । केन्द्रीय कार्यालय तोकिएको प्रदेशभित्र हुने गरी कम्पनीहरुलाई लाइसेन्स दिँदा पारदर्शी रुपमा वितरण गरिने पौडेलले जानकारी दिए ।

अर्थमन्त्री शर्माले गरिब, विपन्न तथा कृषिलाई समेट्ने गरी लघुबिमा कम्पनी स्थापना गरिने बताएका छन् । बिमा कम्पनीहरु तल्लो तहसम्म पुग्न नसकेकाले लघु बिमाको बोध गराएको बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । 

‘ठूला कम्पनीहरुलाई तल्लो तहमा जाउभन्दा गएका छैनन्’ उनले भने ‘लघुबिमाले तल्लो तहमा गएर काम गर्न सक्नेछन् ।’ लघुबिमाले साना पोलिसीमार्फत निम्न वर्ग भएकाको सम्पत्तिको जोखिम सुरक्षण गरिदिने छ ।

‘विपन्न वर्गमा भवितव्य हुने सक्ने क्षतिबाट लघुबिमाले राहत दिन्छ’, उनले थपे, ‘विपन्न वर्गको थोरै नोक्सानी वा सम्पत्ति गुमेको छ भने पनि उनीहरुले तत्काल त्यसबाट राहत पाउने भएकाले बिमालाई लगेर गाउँमा जोडिदिने हो भने उनिहरुले काम गर्न सक्छन् ।’

न्यून आय भएका वर्गहरुलाई बिमामार्फत समेटियो भने उनिहरुले भवितव्यमा क्षतिपूर्ति पाउन सक्ने पौडेलले बताए । ‘हामीसँग भएका ठूला बिमा कम्पनीहरु तल्लो तहमा पुग्न सकेका छैनन्’ उनले भने, ‘बिमामा न्यून आय भएका वर्गलाई लघुबिमामार्फत समेट्न खोजेका हौ ।’

न्यून आय भएका गरिब जनताको एउटा सानो घर, एक दुईवटा वस्तु, कुखुरा पालेर र थोरै जमिनमा खेतीपाती गरिरहेका न्यून आय भएका वर्गहरुलाई बिमामार्फत समेटियो भने उनीहरुले भवितव्यमा हुन सक्ने क्षतिको रकम पाउन सक्छन, पौडेलले भने ।

उनले थोरै बिमा शुल्कमार्फत साविधिक जीवन बिमा नै गरिदियो भने न्यून आय भएका वर्गलाई धेरै राहत हुने बताए । ‘सबैलाई अनिवार्य गर्न सकिदैन । तर, सरकारले दिएको अनुदानलाई उपयोग गर्न सकिन्छ । यसरी बीमा गर्दा कृषकले सुरक्षाको महसस गर्न सक्छन’ उनले भने ।

गाउँमा पुग्ला त लघुबिमाको पहुँच ? 

हाल १९ जीवन बिमा र २० निर्जीवन बिमा कम्पनीहरुले लघुबिमा व्यवसाय गर्दै आइरहेका छन । जीवन बिमा कम्पनीले लघुबिमालेख जारी गर्दा समितिको स्वीकृति लिनुपर्ने व्यवस्था छ भने निर्जीवन बिमालेखको हकमा समितिले स्तरीकृत रुपमा जारी गरेको बिमालेख कार्यान्वयनमा रहेको छ ।

लघुजीवन बिमाअन्तर्गत सावधिक लघुजीवन बिमा, म्यादी लघुजीवन बीमा र समितिले तोकिएबमोजिमको अन्य लघुजीवन बिमाहरु रहेका छन । यस्तै निर्जीवन बिमाअन्तर्गत सम्पत्ति लघुबिमा, घर लघुबिमा, दुर्घटना लघुबिमा, स्वास्थ्य लघुबिमा, घातक रोग लघुबिमा, कृषि लघुबिमा र समितिले तोकेबमोजिमको अन्य लघुनिर्जीवन बिमालेखहरु सञ्चालनमा छन् ।

सरकारले आर्थिक वर्ष ०७५/७६ को बजेटमा दुई वर्षभित्र बीमा कम्पनीहरुले कुल बिमालेख संस्थाको १० प्रतिशत लघुबिमा व्यवसायबाट आर्जन गरेको हुनुपर्ने व्यवस्था गरेको थियो । ठूला कम्पनीहरु गाउँमा जान नमानेपछि यो कार्यान्वयनमा हुन सकेन ।

यसैगरी आर्थिक वर्ष ०७७/०७८ को बजेटमार्फत लघुबिमामा लगाउदै आएको मूल्य अभिवृद्धि कर (भ्याट) छुट दिन व्यवस्था गरेको थियो । चालू आवको बजेटमा भने बिमा समितिले लघुबिमामा थप सहुलियत प्रदान गर्दै हाल पाइरहेको बिमाशुल्कमा अनुदानलाई निरन्तरता दिन सुझाव दिएको छ ।

आगामी वर्ष ०७९/८० को बजेटमा भने सरकारले विपन्न तथा कृषि क्षेत्रलाई समेट्ने गरी लघुबिमा कम्पनीको स्थापना गर्ने उल्लेख गरेको छ । 

के हो लघुबिमा ? 

लघुबिमा भनेको न्यून आय भएको वर्गहरुलाई भविष्यमा हुनसक्ने संभावित जोखिमको लागि गरिने बिमा हो । जो न्यून आय, आर्थिक र सामाजिक कारणबाट हुन सक्ने तर जोखिमसँग सामना गर्न नसक्ने छन ती व्यक्ति वा समुदायलाई लक्षित गरी निजहरूको जीवन वा सम्पत्तिको सुरक्षा गर्ने बिमा नै लघुबिमा हो ।

जसलाई पशुपालन, औषधि उपचार, व्यापार व्यवसायका साथै बालबालिकाको भविष्यको चिन्ताले सधैं पिरोलिरहन्छ, त्यस्ता व्यक्तिले लघुबिमाका विभिन्न कार्यक्रमहरूले समेट्छ । जुन कार्यक्रमले आफूलाई सहजता प्रदान गर्छ त्यस्ता कार्यक्रमहरू उपयोग गर्नुपर्दछ । 
लघुबिमा कायर्यक्रम अरु बिमालेखले समेट्न नसकेको वा पहुँचमा पुग्न नसकेका वर्गहरु प्रतिलक्षित रहेको छ ।

ग्रामीण क्षेत्रमा बसोबास गर्ने बिमाको दायराले समावेश गर्न नसकेका, न्यून आय भई जीविकोपार्जन गर्ने समुदायको दैनिक जीवनमा आइपर्न सक्ने सम्भावित जोखिम न्यूनीकरणमा सहयोग पुर्याउने एक कार्यक्रम नै लघुबिमा हो । 

शुक्रबार​ २७ जेठ २०७९ १२:४२ PM मा प्रकाशित

प्रतिक्रिया