बीबीसी । अमेरिकी राष्ट्रपति जो बाइडनको प्रशासनले दुई वर्षको अवधिमा ५० करोड फाइजर खोपको मात्रा १०० वटा देशलाई उपलब्ध गराउने अमेरिकाका सञ्चारमाध्यमहरूले जनाएका छन्।
यो वर्षभित्र २० करोड खोपको मात्रा वितरण गरिनेछ भने बाँकी सन् २०२२ मा वितरण गरिनेछ। अमेरिकालाई गरिब देशहरूमा कोरोना भाइरस विरुद्धको खोपको दर वृद्धिका लागि सघाउन दबाब परिरहेको छ। रोयटर्स समाचार संस्थाकाअनुसार अमेरिकी सरकारले ९२ वटा कम आय भएका देश र अफ्रिकी सङ्घलाई उक्त खोप सहयोग गर्ने जनाएको छ।
कोभ्याक्स कार्यक्रममार्फत सो खोप वितरण गरिने भनिएको छ। अघिल्लो वर्ष स्थापित कोभ्याक्सले धनी र गरिब देशहरूबीच खोपको पहुँचमा विभेद नहोस् भन्ने आवाज उठाउँदै आएको छ।
अमेरिकाले यसअघि कोभ्याक्समार्फत ६ करोड खोपको मात्रा उपलब्ध गराउने घोषणा गरेको थियो। अमेरिकी राष्ट्रपतिका रूपमा पहिलो विदेश भ्रमणको सुरुवात गर्दै बाइडन यूकेमा ओर्लिएपछि पछिल्ला खबरहरू सार्वजनिक भएका हुन्।
ह्वाइट हाउसले ५० करोड खोपको वितरणबारे आधिकारिक तवरले केही बताएको छैन। तर विश्वका लागि अमेरिकाको खोप रणनीतिबारे सोधिएको प्रश्नमा बाइडनले भने, मसँग एउटा छ र म त्यो घोषणा गर्नेछु।
बुधबार साँझ सफोकस्थित आरएएफ मिलडनहल हवाई अखडामा अमेरिकी एअर फोर्स वान विमान अवतरण गरेको हेर्न एउटा ठूलो भीड उपस्थित थियो।
बाइडनले उक्त अखडामा उपस्थित अमेरिकी सैनिकका परिवारहरूलाई सम्बोधन गर्दै नेसनल गार्डका रूपमा काम गरेका आफ्ना दिवंगत छोराको पनि सम्झना गरेका थिए। उनले अमेरिकी साझेदारहरूलाई समान विचार भएका राष्ट्रहरू भन्दै अमेरिका पुनः फर्किएको बताए।
विश्वका लोकतन्त्रहरू सबैभन्दा कठिन चुनौतीहरू र भविष्यका लागि सबैभन्दा महत्त्व राख्ने विषयहरूमा एक ठाउँमा उभिएको उनले बताए। पछि उनले कोर्नवालको भ्रमण गरेका थिए।
अमेरिकी राष्ट्रपति र ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनले ब्रिटेनको दक्षिण पश्चिम कुनामा जी सेभेनको शिखर बैठक अघि बिहीबार पहिलो पटक भेटवार्ता गर्दैछन्।
आठ दिने भ्रमणमा राष्ट्रपति बाइडनले महारानीसँग विन्डजर क्यासलमा भेट्नेछन् । र, राष्ट्रपतिको रूपमा पहिलो नेटो शिखर बैठकमा पनि भाग लिनेछन्।