×

बोइङ–७५७ जहाजको छुटेको इन्जिन र पार्टपुर्जा बिक्री गर्ने निर्णय भयो, भएन कार्यान्वयन 

images

काठमाडौैं । नेपाल वायुसेवा निगमको सञ्चालक समितिले दुई वर्षअघि नै बिक्रीका लागि स्वीकृति दिइसकेको बोइङ–७५७ जहाजको छुटेको इन्जिन र पार्टपुर्जा अझैसम्म अलपत्र छ । 

पहिले नै बिक्री भइसकेको सो बोइङको इन्जिन र केही पार्टपुर्जाहरु पछि भेटिएका थिए । तत्कालीन महाप्रबन्धक डिमप्रकाश पौडेलले निगममा रहेका पुराना र थोत्रा सामानहरु खोजी गर्ने क्रममा बोइङको पार्टपुर्जा फेला पारेका थिए ।

तत्कालीन सञ्चालक समितिले जहाज बिक्री गरे पनि इन्जिन र पार्टपुर्जा कहाँ र कति छन् भन्ने खोजी गरेका थिएनन् ।

भेटिएको इन्जिन र पार्टपुर्जा बिक्रीका लागि सञ्चालक समितिले २०७७ माग ४ गते नै व्यवस्थापनलाई जिम्मेवारीसमेत दिएको थियो । तर, तत्कालीन महाप्रबन्धक  पौडेललाई मन्त्रालयमा तानेर कार्यकारी अध्यक्षको रुपमा सरकारले युवराज अधिकारीलाई नियुक्ति दिएपछि प्रक्रिया लम्बिएको देखिन्छ । 

निगम स्रोतले दिएको प्रतिवेदनअनुसार करिब २५ करोडबराबरको सो इन्जिन र पार्टपुर्जा रहेको छ ।

अहिलेसम्म ती पार्टपुर्जा प्रयोग गर्न सक्ने अवस्थामा रहेकाले तत्काल बिक्री गर्न सके निगमलाई आम्दानी हुने देखिएको अधिकारीहरुको भनाइ छ । तर, निगम व्यवस्थापनमा देखिएको किचलोका कारण तत्काल बिक्री हुने अवस्था नदेखिएको र कवाडीको रुपमा बिक्री गर्नुपर्ने अवस्था आउन सक्ने निगमका एक उच्च अधिकारी बताउँछन् । 

निगमभित्र पछिल्लो समय कार्यकारी अध्यक्ष र महाप्रबन्धक फेरबदलको जुहारीले समस्या उत्पन्न भएको छ । जसकारण यस्ता विषयमा ध्यान जान नसकेको ती अधिकारीको दाबी छ । ‘कर्मचारीहरुले मात्र चाहेर बिक्री वितरण गर्न सक्दैनन् । निगमका व्यवस्थापक नै गम्भीर भएर लाग्नुपर्छ,’ ती अधिकारीले बताए । 

कार्यकारी अध्यक्ष अधिकारीले २०७९ जेठ ३१ गते एउटा निर्णय गराउँदै स्पेनको आइबेरियामा रहको बोइङ–७५७ जहाजको इन्जिन र बाँकी पार्टपुर्जा बिक्रीका लागि गठित उपसमितिले कार्यकारी अध्यक्षलाई नै सम्पूर्ण अधिकारी दिएको उल्लेख गरेका थिए । निगम सञ्चालक समितिको अर्को निर्णय (२०७८÷२÷२७) अनुसार सीधै बिक्रीका लागि अनुमति प्राप्त भएको उल्लेख छ ।

क्यापिटललाई प्राप्त प्रतिवेदनअनुसार सो इन्जिन र पार्टपुर्जा बिक्री गर्न २०७९ जेठ १२, १६ र १८ गते गरी तीनवटा बैठक सम्पन्न भइसकेका छन् । यस क्रममा उपसमितिले बोर्डबाट प्राप्त स्वीकृति र नेवानि वार्ताद्वारा लिलाम÷बिक्री कार्यविधि २०७६ को विस्तृत अध्ययनसमेत गरिसकेको उल्लेख छ ।

सञ्चालक समितिको २०७८ जेठ २७ को निर्णयअनुसार इन्जिनको मूल्यमा आइबीए ग्रुपद्वारा उल्लेखित अमेरिकी डलर १.५७२ मिलियनमा नघट्ने गरी लिलाम/बिक्री प्रक्रिया अघि बढाउन स्वीकृति दिइसकेको थियो । उक्त इन्जिन सन् २०१७ को जुन महिनादेखि आइबेरिया फ्यासिलिटिमा मर्मतका लागि पठाइएको थियो ।

२०७९ जेठ ९ गते गठित उपसमिति संयोजक अर्चना खड्कासहितको समितिले दिएको प्रतिवेदनमा ‘मर्मतका लागि लगिएको सो इन्जिन राखेबापत तथा भन्सार शुल्कबापत तिर्नुपर्ने रकम निगम र आइबेरिया फ्यासिलिटीबीच बारम्बार इमेलमार्फत पत्राचार भइरहेको भए पनि तिर्नुपर्ने रकम यकिन नगरेको अवस्थामा २०२२ जुन १ मा इमेलमार्फत उक्त कम्पनीले निगमले ०.२५ मिलियन अमेरिकी डलर भुक्तानी गर्नुपर्ने जानकारी गराएकोले लिलाम बढाबढको सूचना प्रकाशित गर्दा संचालक समितिले तोकेको इन्जिनको मूल्य अमेरिकी डलर १.५७२ मिलियनमा निगमको उक्त इन्जिन भण्डारण तथा भन्सार शुल्क भुक्तानीका सम्बन्धमा कसरी व्यवस्थापन गर्ने स्पष्ट नभएको’ उल्लेख छ ।

निगमकी प्रवक्ता अर्चना खड्काले इन्जिन र पार्टपुर्जा बिक्री वितरण गर्न गठित पछिल्लो उपसमितिले कार्यकारी अध्यक्ष अधिकारीलाई प्रतिवेदन बुझाइसकेको र थप निर्देशन आउन बाँकी रहेको बताइन् । 

’उपसमितिले प्रतिवेदन बुझाइसकेको छ,’ प्रवक्ता खड्काले भनिन्, ‘आवश्यक निर्णयका लागि सञ्चालक समितिमा लानु हुन्छ वा उहाँ आफैंले निर्देशन जारी गर्नुहुन्छ, त्यो हेर्न बाँकी छ ।’

 


 

बुधबार २५ साउन २०७९ ०३:५५ PM मा प्रकाशित

प्रतिक्रिया