पहाडकी रानी उपनामले परिचित तनहुँको बन्दीपुर जाने सडक कालोपत्रे गर्ने कार्य थालिएको छ । पृथ्वी राजमार्गअन्तर्गत पिप्लेबाट बन्दीपुर बजारसम्मको करिब सात किलोमिटर सडक स्तरोन्नतिपश्चात कालोपत्रे थालिएको हो ।
सडक विभागको ६ करोड र गाउँपालिकाको ३ करोड ६० लाख गरी ९ करोड ६० लाख रुपैयाँको लागतमा असार महिनाभित्र सम्पन्न गर्ने कालोपत्रे कार्य सुरु गरिएको बन्दीपुर गाउँपालिका कार्यालयले जनाएको छ ।
सडकको दायाँबायाँ एक/एक मिटर बढाएर निर्माण गर्न लागिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए । रिटेनिङ पर्खाल उठाउने ठाउँका लागि ठेक्का लगाई काम सुरु भएको छ । उनले भने, “नाला निर्माण ठेक्का लागे पनि ठेकेदार भागेकाले नालाबिनाको कालोपत्रे गर्न लागिएको छ ।”
सडक साँघुरो भएका कारण ठूला पर्यटकीय गाडी बन्दीपुर जान कठिनाइ भएपछि अघिल्लो वर्ष सडक ६ मिटरको चौडा बनाएपछि यस वर्ष कालोपत्रको काम गरिएको उनले बताए। पिप्लेबजार र बन्दीपुर बजार क्षेत्रका करिब दुई किलोमिटर सात मिटरको फराकिलो सडक बनाइनेछ भने ५ किलोमिटर ६ मिटरको सडक हुनेछ ।
दुईतर्फी सवारी साधन गुड्न मिल्ने गरी सडक बनाइएको अध्यक्ष थापाले बताए । उनका अनुसार पिप्लेबजार र बन्दीपुर बजार क्षेत्रको पुरानो कालोपत्र सडक पूरै भत्काएर पुनःनिर्माण गर्ने योजना छ ।
प्रत्येक वडा कार्यालयसम्म कालोपत्रे
बन्दीपुर गाउँपालिका मातहत रहेका छवटै वडा कार्यालयमा कालोपत्रे पुर्याउने गरी काम गरेको छ । हरेक वडा कार्यालयमा कालोपत्र गर्ने अभियानअनुरुप वडा नं ६ मा जाने मार्गको करिब ५ किलोमिटर कालोपत्रे गरिसकेको प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले बताए । उक्त वडा जाने सडकको बीच भागमा केही कालोपत्रे गर्न बाँकी रहेकाले तुरुन्तै सम्पन्न गर्ने योजना रहेको उहाँले जानकारी दिए ।
त्यसैगरी वडा नं ५ मा जाने सडक पृथ्वीराजमार्गअन्तर्गत पर्ने याम्पाबाट फराकिलो बनाई कालोपत्रे गर्दै थुम्कासम्म पुगेकाले अबको केही दिनमा सम्पन्न हुने उनले बताए । बाँकी चार वडामध्ये केही वडामा पुगिसकेको र कुनैको अन्तिम चरणमा रहेको सो गाउँपालिका कार्यालयले जनाएको छ । रासस