काठमाडौं । भारत सरकारले कोइला निकासी खुला गरेको छ । केही समय अघिदेखि कोइला निकासी रोकेको भारतले गत बुधबारदेखि खुला गरेको हो ।
भारतले कोइला निकासी खुला गरेसँगै नेपाली उद्योगी/व्यवसायीले अब तेस्रो मुलुकबाट कोइला ल्याउनुपर्ने बाध्यता भने टरेको छ । उद्योगी व्यवसायीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई भारतले लगाएको कोइला निकासीको प्रतिबन्धलाई खुलाउन पहलका लागि आग्रह गर्दै आएका थिए ।
व्यवसायीका अनुसार अहिलेसम्म नेपाली व्यवसायीले तेस्रो मुलुकबाट कोइला ल्याइरहेका छन् । अब व्यवसायीका लागि कोइला किन्न दुईवटा ‘अप्सन’ भएको छ । तेस्रो मुलुकसँगै भारतबाट ल्याउने सुविधा भएको छ । यद्यपि, तेस्रो मुलुकबाट आउने कोइलाको तुलनामा भारतीय कोइला कम गुणस्तरको रहेको उद्योगीहरु बताउँछन् ।
कोइलाकै कारण नेपालको सिमेन्ट उत्पादन महँगो हुने गरेको उद्योगीहरुले बताउँदै आएका थिए । कोइलाका लागि ६ महिना पैसा फसाउनुपर्छ यसको ब्याज लगायत जोड्दा उत्पादन महँगो भएको सम्बद्ध उद्योगीहरुको भनाइ छ । सिमेन्ट उद्योगीले तेस्रो मुलुकमा उत्पादित कोइला भारतमा खरिद गरेर नेपाल आयात गर्न पाउनुपर्ने माग गरिरहेका थिए ।
सिमेन्ट उद्योगले दक्षिण अफ्रिका र इन्डोनेसिया लगायतका तेस्रो मुलुकबाट कोइलाको आयात गरिरहेका छन् । तेस्रो मुलुकको यही कोइला भारतका व्यवसायीबाट नेपालमा आयात गर्न पाउनुपर्ने माग सिमेन्टका उद्यमीले गरेका हुन् । तर, ८ तारिखबाट भारत सरकारले कोइला निर्यातको बाटो खुला गरेको र अब उद्योगी व्यवसायीलाई थप अप्सन रहेको सिमेन्ट उद्योगी राजेश अग्रवालले बताए ।
क्लिङ्कर उत्पादन गर्ने सिमेन्ट उद्योगका लागि चुनढुङ्गापछिको मुख्य सहायक कच्चा पदार्थ कोइलानै हो । समुन्द्रपारबाट कोइला ल्याउँदा कम्तीमा २ महिना लाग्छ । भारतीय बजारमा खरिद गरेको २ दिनपछि नेपालको कुनै पनि कुनामा पुर्याउन सकिन्छ ।