सोमबार, माघ ३ २०७८ १०:१३ PM

×

सुनकोसी हाइड्रोपावरको साधारणसभा सम्पन्न, एनएचपीसीमा मर्ज गर्ने प्रस्ताव पारित 

images

काठमाडौं । सुनकोसी हाइड्रोपावर लिमिटेड नेसनल हाइड्रोपावर कम्पनी लिमिटेड (एनएचपीसी) मा विलय हुने भएको छ । सुनकोसीको हालै सम्पन्न २० औं वार्षिक साधारणसभाले एनएचपीसीमा समाहित हुने प्रस्ताव पारित गरेको छ ।

सुनकोसीलाई मर्ज गर्ने प्रस्ताव एनएचपीसीको साधारणसभाले पारित गर्न बाँकी छ । पारित भएपछि सुनकोसी औपचारिक रुपमा नेसनलमा समाहित हुने छ । पारित भएको प्रस्तावलाई नियामक विद्युत नियमन आयोगले स्वीकृत प्रदान गर्नुपर्ने हुन्छ । अहिले आयोग नेतृत्वविहीन भएको अवस्था छ ।

एनएचपीसीले सुनकोसी हाइड्रोपावरमा गरेको लगानी रकममध्ये ६१ करोड ७२ लाख रुपैयाँ ‘राइट ब्याक’ भइसकेको छ । आउँदो साधारणसभामा सेयरधनीहरुलाई २० प्रतिशतसम्म बोनस सेयर दिने प्रस्ताव सभामा पेश हुँदैछ । नियमन आयोगले स्वीकृत गरेपछि मात्र सभामा पेश हुने छ । 

विद्युत विकास विभागबाट एनएचपीसीले ४.५ मेगावाटको सुनकोसी आयोजनाको अनुमतिपत्र (लाइसेन्स) पाइसकेको छ । एनएचपीसीले बढी रकम तिरेर प्रतिस्पर्धाबाट सो आयोजना पाएको हो ।

कम्पनीले २० प्रतिशतसम्म लाभांश दिन विषयमा गत आर्थिक वर्षको वित्तीय विवरणमा स्पष्ट पारेको छ । कम्पनीले तल्लो इन्द्रावती आयोजनामा लगानी गरेको थियो । सो आयोजनाको लाइसेन्स खारेज भएपछि सो बराबरको लगानी डुब्ने अवस्था आएपछि ‘प्रोभिजनिङ’ गरिएको हो ।

एनएचपीसीको चुक्ता पुँजी १ अर्ब ३९ करोड ५९ लाख रुपैयाँ छ । बोनस वितरणपछि चुक्ता पुँजी बढेर २ अर्ब नजिक पुग्दै छ । कम्पनीले १४ मेगावाटको इर्खुवाखोला आयोजना बनाइरहेको छ । तल्लो इन्द्रावतीको काम करिब आधा सकिएको छ ।

आयोजना बनाउन कम्पनीले नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पीपीए) र लगानी जुटाउन बाँकी छ । लाइसेन्स पाउनसाथ यी सबै प्रक्रिया पूरा गर्ने भनाई कम्पनीको छ ।

बुधबार २८ पुस २०७८ ११:२४ AM मा प्रकाशित

प्रतिक्रिया