काठमाडौं । मूल्य वृद्धिको ग्राफ पुनः उकालो लागेको छ । चालु आर्थिक वर्षको मंसिरमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.११ प्रतिशत पुगेको छ । अघिल्लो महिना कात्तिकमा मुद्रास्फिती ५.३२ प्रतिशत थियो ।
मंसिरमा आउँदा झनै बढेर ७ प्रतिशत कटेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही महिनामा मुद्रास्फीति २.९३ प्रतिशत रहेको थियो । चालु आर्थिक वर्षको बजेटमा सरकारले मूल्य वृद्धिलाई साढे ६ प्रतिशतको सीमामा राख्ने लक्ष्य लिएको छ ।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.६७ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.२५ प्रतिशत रहेको छ । २०७७ मंसिरको तुलनामा २०७८ मंसिरमा घ्यू तथा तेल, यातायात, दाल तथा गेडागुडी, शिक्षा र सुर्तीजन्य वस्तु उपसमूहको मूल्यवृद्धि क्रमशः २८.५२, १६.२५, ११.७९, ११.७८ र ११.७४ प्रतिशत रहेको छ ।
समीक्षा महिनामा काठमाडौं उपत्यकामा ५.९१ प्रतिशत, तराईमा ७.५२ प्रतिशत, पहाडमा ६.९५ प्रतिशत र हिमालमा ४.९१ प्रतिशत मुद्रास्फीति रहेको छ ।
२०७८ मंसिरमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ७.२२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.४६ प्रतिशत रहेको थियो । समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ९.२२, ६.११ र ७.२४ प्रतिशत रहेको छ ।
समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि १९.३४ प्रतिशत रहेको छ । २०७८ मंसिरमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति नेपालमा ७.११ र सन् २०२१ डिसेम्बरमा भारतमा ५.५९ प्रतिशत रहेको छ ।