×

एडीबीको प्रारम्भिक रिपोर्टः मेलम्चीको हेडवर्क्स सार्नुपर्छ 

images

काठमाडौं । एसियाली विकास बैंक (एडीबी) को भौगर्भिक अध्ययनले मेलम्ची खानेपानी आयाजनाको हेडवक्र्स सार्नुपर्ने देखाएको छ । एडीबीले गत वैशाखमा बुझाएको पहिलो चरणको अध्ययन रिपोर्टले हेडवर्क्स नै सार्नुपर्ने सम्भावना देखाएको खानेपानी मन्त्रालयले जनाएको छ । 
तर, उक्त प्रतिवेदन प्रारम्भिक अर्थात् पहिलो चरणको मात्रै भएकाले यसैलाई आधिकारिक मान्न नमिल्ने मन्त्रालयको भनाइ छ । एडीबीले मेलम्ची खानेपानी आयोजनामा बाढीले क्षति पुर्याएपछि गत नोभेम्बरबाट भौगार्भिक अध्ययन सुरु गरेको थियो । उक्त टोलीमा २ जना विदेशी र ६ जना स्वदेशी गरी कुल ८ जना रहेका छन् । 

images

रिपोर्ट बुझाउन एडीबीको ढिलाइले मेलम्चीको स्थायी संरचना पुनर्निर्माण अनिश्चित

एडीबीले गत नोभेम्बरबाट २ चरणमा मेलम्चीको भौगर्भिक अध्ययन सुरु गरेको थियो । हालसम्म पहिलो चरणको मात्रै अध्ययन सम्पन्न भएकाले मेलम्चीको स्थायी संरचनाको पुनर्निर्माण अनिश्चित बनेको हो । 

२ चरणमा मेलम्चीको अध्ययन सम्पन्न गर्ने योजना एडीबीको छ । जसमध्ये पहिलो चरणको रिपोर्ट बुझाइसकिएको छ । दोस्रो चरणको अध्ययन भने सुरु भएको छैन । आगामी डिसेम्बरसम्म दोस्रो चरणको अध्ययन सम्पन्न गर्ने योजना एडीबीको छ । हाल मनसुनको समय भएकाले आगामी डिसेम्बरसम्म रिपोर्ट बुझाउने तयारी एडीबीले गरेको हो । 

पहिलो चरणको अध्ययनले के कारण आयोजना क्षेत्रमा पहिरो गयो ? र वपिरिका अन्य ठाउँमा पहिरोको सम्भावना कति छ ? भनेर  पत्ता लगाउने बताइएको छ । जसको ड्राफ्ट रिपोर्ट एडीबीले वैशाखमा मन्त्रालयलाई बुझाइसकेको छ । 

तर, एडीबीले दोस्रो चरणको अध्ययन रिपोर्ट नबुझाउँदा बाढी आएको १ वर्षसम्म पनि मेलम्ची खानेपानी आयोजनामा भएको क्षतिको विवरण प्राप्त हुन सकेको छैन । 

दोस्रो चरणको रिपोर्टले आयोजनाको हेडवर्क्समा पुर्याएको क्षति र पुनः सञ्चालनको विषयमा अध्ययन गर्ने एडीबीले जनाएको छ । तर, उक्त अध्ययन भने मनसुन सकिएपछि मात्रै सुरु गर्ने एडीबीको तयारी छ । 

मन्त्रालय स्रोतका अनुसार अहिले हेडवर्क्स रहेको स्थानबाट करिब डेढ सय मिटर उत्तरतर्फ हेडवर्क्स बनाएको भए बाढीले क्षति नगर्ने अध्ययनले देखाएको छ । यद्यपि एडिबीले नयाँ हेडवक्र्स कहाँ बनाउनुपर्छ ? भन्ने निश्चित गरेको छैन । 

नयाँ हेडवर्क्स बनाउँन १ अर्ब लाग्ने

मेलम्ची खानेपानी आयोजनाका अनुसार नयाँ हेडवक्र्स बनाउन १ अर्बभन्दा बढी लाग्छ । पुरानो हेडवर्क्सजस्तै लागत लाग्ने आयोजनाको भनाइ छ । ‘नयाँ हेडवर्क्स बनाउन पनि १ अर्बभन्दा बढी नै लाग्छ, कम रकमले पुग्दैन । तर, पहिला एडीबीले फाइनल रिपोर्ट बुझाउनुपर्छ । अहिले नै फेरि हेडवर्क्स बनाउनुपर्छ भन्ने होइन’, आयोजनाका एक इन्जिनियरले भने । 

मेलम्ची खानेपानी आयोजना क्षेत्रमा पहिरो जानाको कारण पुरानो विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) मा काम भएर पनि हुन सक्ने विज्ञहरुको भनाइ छ । तर, एडीबीको अध्ययनले भने हालसम्म डीपीआरको विषयमा कुनै प्रतिक्रिया दिएको छैन । मन्त्रालयका अनुसार २० वर्षपहिले डीपीआर तयार गरिएको ठाउँमा मेलम्ची खानेपानी आयोजना निर्माण गरिएको हो । मेलम्ची खानेपानी आयोजना निर्माणको सुरुवात आर्थिक वर्ष २०५५/०५६ बाट भएको थियो ।

२०४१ सालमा काठमाडौं उपत्यकामा भइरहेको पानीको अभावलाई दीर्घकालीन समाधान गर्ने योजनास्वरुप मेलम्चीसहित २२ वटा विकल्प अगाडि सारिएको थियो । तर, मेलम्चीको बारेमा नवौं योजना (२०५४–०५९) मा स्पष्ट पारिएको छ । 

मेलम्चीको  पानी २०७७ साल फागुनमा पहिलोपटक काठमाडौं आएको थियो । तर, २०७८ असार १ र साउन १६ गते मेलम्ची खोलामा गएको बाढीले आयोजनामा क्षति पुर्याएपछि मेलम्चीको पानी काठमाडौं ल्याउन समस्या सिर्जना भएको छ । 

सोमबार ३० जेठ २०७९ १०:२९ AM मा प्रकाशित

प्रतिक्रिया