काठमाडौं । वन नेपाल सीआरएस कम्पनीले परिवार योजनासम्बन्धी ‘मेरी संगिनी’ नामक मोबाइल एप सुरु गरेको छ । अस्थायी र छोटो अवधिका परिवार योजनाका साधनहरूकाबारे विस्तृत जानकारी दिने उद्देश्यले ‘मेरी संगिनी मोबाइल एप’ सुरु गरिएको छ ।
मेरी संगिनीबाट प्रदान गरिएको अस्थायी तथा छोटो अवधिका परिवार योजनाका साधनहरूसम्बन्धी तथा सो साधन को प्रयोगबाट पर्न जाने साधारण प्रतिअसरहरूको समेत जानकारी प्रजनन उमेरको जो कोहीलाई अति उपयोगी हुने भए तापनि विशेष गरी किशोर तथा किशोरी एवं नवविवाहित जोडीहरूलाई अत्यन्त उपयोगी रहने नेपाल सीआरएस कम्पनीले जानकारी दिएको छ ।
एपमा भएको ‘प्रायसोधिने प्रश्नहरू’ खण्डले परिवारयोजनाका अस्थायी तथा छोटो अवधिका साधन प्रयोगकर्ताहरूलाई अझ विस्तृत जानकारी दिनुको साथै सम्भाव्य प्रयोगकर्ताहरूलाई साधनहरूको सुसूचित छनौट गर्न मदत गर्ने छ ।
साथै एपमा आफू नजिकैको अस्थायी तथा छोटो अवधिका परिवार योजनाका साधन उपलब्ध गराउने औषधि पसल, क्लिनिक र संगिनी सेवा केन्द्रको ठेगाना र नक्सा पनि उपलब्ध हुने हुँदा आफू नजिकैको तालिम प्राप्त र दक्ष्य सेवा केन्द्रबाट आफूलाई उपयुक्त हुने साधनको सेवासमेत लिन मदत गर्नेछ ।
परिवार कल्याण महाशाखाका निर्देशक डा. तारा नाथ पोख्रेलले परिवार योजनाका साधनहरूको पहुँच बढाउनका निम्ति मोबाइल प्रविधिको भूमिका अत्यन्त महत्वपूर्ण रहेको र मेरी संगिनी एपले उपभोक्ताहरूलाई अस्थायी गर्वनिरोधक साधन बारे सुसूचित छनौट गर्न सहयोग पुर्याउने बताए ।
साथै राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा संचार केन्द्रका निर्देशक डा. राधिका थपलियाले यो एपले परिवार योजना र यस सम्बन्धि विषयमा विस्तृत जानकारी सजिलोसँग हासिल गर्न मद्दत हुने कुरा व्यक्त गरे छ ।
नेपाल सीआरएस कम्पनीका प्रबन्ध निर्देशक जिबलाल पोखरेलले मातृ मृत्युदर घटाउन परिवार योजनाको ठूलो भूमिका रहेको र प्रयोगकर्ता माझ सही र अद्यावधिक सूचनाको पहुँच बढाउनमा सञ्चार प्रविधिको ठूलो महत्व रहेको बताएका छन् । साथै यस एपमार्फत सेवा प्रयोगकर्तालाई सेवा प्रदायकसँग सजिलै जोड्न सक्ने बताए ।
मेरी संगिनी एप, यूएसएआईडीको आर्थिक एवं सप्स प्लस को प्राविधिक सहयोगका तथा राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रको समन्वयमा नेपाल सीआरएस कम्पनीद्वारा निर्माण गरिएको हो ।
नेपाल सीआरएस कम्पनीले सामाजिक बजारीकरणको सिद्धान्तअनुसार बिगत चार दशक भन्दा अघिदेखि परिवार योजना, मातृ तथा बाल स्वास्थ्य र यौन रोगको रोकथामका साधनहरूको बिक्री वितरण तथा व्यवहार परिबर्तनसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको छ ।