काठमाडौं । सेयर बजारमा जलविद्युत कम्पनीको हिस्सा बढ्दै गएको छ । धमाधम प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न थालेपछि जलविद्युतको बजार हिस्सा बढेको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार जलविद्युत कम्पनीहरुको बजार हिस्सा बढेर ८.४ प्रतिशत पुगेको छ । सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा सबैभन्दा बढी अर्थात ६८.३ प्रतिशत रहेको छ ।
लगानी कम्पनीको ७.८, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ३.९, होटेलको हिस्सा १.४ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.६ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ९.६ प्रतिशत रहेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा २०७८ बैशाखसम्ममा सूचीकृत ५ अर्ब ७० करोड सेयरको चुक्ता मूल्य ५ खर्ब ६० अर्ब ८८ करोड रुपैयाँ रहेको छ ।
आर्थिक वर्ष ०७७/०७८ को १० महिनासम्ममा २ खर्ब १९ अर्ब ९५ करोड रुपैयाँ बराबरको विकास ऋणपत्र, ४१ अर्ब ३३ करोड बराबरको साधारण सेयर, ४३ अर्ब २० करोड रुपैयाँ बराबरको बोनस सेयर, १४ अर्ब ५५ करोड बराबरको डिबेन्चर, ५ अर्ब ५२ करोड बराबरको हकप्रद सेयर र २ अर्ब ८५ करोड बराबरको म्युचुअल फण्ड गरी कुल ३ खर्ब २७ अर्ब ४० करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएका छन ।
यस्तै समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले १७ अर्ब ५४ करोड बराबरको डिबेन्चर १३ अर्ब ३४ करोड बराबरको साधारण सेयर ६ अर्ब ५० करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड र ३ अर्ब ५ करोड बराबरको हकप्रद सेयर गरी कुल ४० अर्ब ४३ करोड रुपैयाँ बराबरको धितोपत्र निष्काशन गर्न अनुमति दिएको छ ।