६ सेवा प्रदायक कम्पनीका झन्डै चार करोड सिम प्रयोेगमा, एक महिनामै तीन लाख प्रयाेगकर्ता बढे

नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले टेलिकमले सेवा सुविधा, गुणस्तर तथा अफरलाई सुधार गर्दै लगेकाले पनि टेलिकमका प्रयोगकर्ता बढेको जानकारी दिइन् । ‘अहिले टेलिकममार्फत सेवा लिने झन्डै तीन करोड पुगेका छन्,’ उनले भनिन् । आगामी दिनमा ग्राहकको चाहना तथा सन्तुष्टिका आधारमा सेवा विस्तार गर्दै लैजाने उनको भनाइ छ ।

नेपालका ६ दूरसञ्चार सेवाप्रदायक कम्पनीका झन्डै चार करोड सिम प्रयोगमा छन् । नेपाल दूरसञ्चार प्राधिकरणले बिहीबार सार्वजनिक गरेको एमआईएस रिपोर्टअनुसार सो सङ्ख्याका सिम प्रयोग भएको देखिएको हो ।

प्रत्येक नेपालीले दुईदेखि तीन ओटासम्म सिम प्रयोग गर्ने भएकाले पनि उक्त सङ्ख्यामा सिम प्रयोग भएको देखिएको हो । तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको १० महिना बैशाखसम्म सञ्चालनमा रहेका ६ ओटा दूरसञ्चार सेवा प्रदायक कम्पनीका तीन करोड ८५ लाख ७५ हजार एक सय १४ सिम प्रयोग भएका छन् । जुन गत महिनाको भन्दा तीन लाखले बढी हो । गत चैत मसान्तसम्म तीन करोड ८२ लाख ३१ हजार एक सय ५३ सिम प्रयोगमा थिए । यीमध्ये सबैभन्दा बढी सिम दूरसञ्चार कम्पनीका प्रयोग भएका छन् ।

अहिले नेपाल टेलिकमका एक करोड ९५ लाख ४२ हजार ६ सय २० सेवाग्राही पुगेको बताइएको छ । त्यस्तै निजी सेवाप्रदायक कम्पनी एनसेलका एक करोड ६३ लाख ३१ हजार तीन सय ७२ सेवाग्राही भएको जनाइएको छ ।

एनसेलले हाल २१ भन्दा बढी सहरमा फोरजी सेवा विस्तार गरिसकेको छ भने, सरकारी स्वामित्वको नेपाल टेलिकमले दुई ठूला सहर काठमाडौं उपत्यका र पोखरामा मात्र फोरजी सेवा विस्तार गरेको छ ।

नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले टेलिकमले सेवा सुविधा, गुणस्तर तथा अफरलाई सुधार गर्दै लगेकाले पनि टेलिकमका प्रयोगकर्ता ह्वातै बढेको जानकारी दिइन् । ‘अहिले टेलिकममार्फत सेवा लिने झन्डै तीन करोड पुगेका छन्,’ उनले भनिन् । आगामी दिनमा ग्राहकको चाहना तथा सन्तुष्टिका आधारमा सेवा विस्तार गर्दै लैजाने उनको भनाइ छ ।

प्रवक्ता वैद्यले अबको एक वर्षभित्र देशका सबै क्षेत्रमा फोरजी सेवा विस्तार गर्ने जानकारी दिइन् । त्यसपछि टेलिकमका सेवाग्राही अझ बढ्ने उनको विश्वास छ ।युनाइटेड टेलिकमका कुल पाँचलाख २६ हजार आठ सय ७४ सेवाग्राही छन् भने एनएसटीपीएलका तीन लाख २८ हजार पाँच सय ३८ प्रयोगकर्ता पुगेको प्राधिकरणले जनाएको छ ।प्राधिकरणका अनुसार एसटीपीएलका १८ लाख ४३ हजार ९ सय २८ र अन्य सेवा प्रदायक कम्पनीका एक हजार सात सय ४२ सेवाग्राही रहेको बताइएको छ ।

नेपालका ६ दूरसञ्चार सेवाप्रदायक कम्पनीका मोबाइल मार्फत सेवा लिने कुल तीन करोड ७७ लाख १६ हजार पाँच सय ३८ जना छन् ।
जसमा जीएसएममार्फत तीन करोड ५६ लाख ६४ हजार तीन सय चार र सीडीएमएबाट २० लाख ५२ हजार दुई सय २४ र अन्य जीएमपीसीएसका एक हजार सात सय ४२ प्रयोगकर्ता पुगेको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ ।

त्यसैगरी फिक्स्ड लाईनमार्फत सेवा लिने आठ लाख ५६ हजार आठ सय ३४ छन् ।
त्यसमध्ये पीएसटीएनमा ६ लाख ८१ हजार आठ सय २३, वायरलेसमार्फत एक लाख ७४ हजार चार सय ३० र भीस्याटमार्फत पाँच सय ८१ जना प्रयोगकर्ताले सेवा लिइरहेको जनाइएको छ ।

प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले एकै व्यक्तिले दुई वा सोभन्दा बढी सिम प्रयोग गर्न थालेका कारण पनि सेवाग्राही बढी देखिएको जानकारी दिए । नेपाल टेलिकम, युनाइटेड टेलिकम र एनसेलबीच कुन कम्पनीले कस्तो सेवा प्रदान गर्ने र ग्राहकलाई लोभ्याउन सक्ने प्रतिस्पर्धा चलिरहेकाले पनि यो स्थिति आएको प्रवक्ता अर्यालले बताए ।