काठमाडौं । प्राइमरी तथा सेकेन्डरी रड उत्पादनमा पायोनियर श्री स्टिलले १ अर्ब २० करोड लगानी थप्ने भएको छ । कम्पनीले बिलेट बनाउने दुईवटा भट्टी लगाउने प्रक्रिया अघि बढाएसँगै ठूलो लगानी थप्न लागेको हो ।
कम्पनीले २ वटा भट्टी लगाइसकेको छ । कोरोना महामारीका कारण अहिलेसम्म बिलेट उत्पादन बजारमा नआएको हो । ‘यदि कोरोना महामारी कम भएको भए यतिखेर उत्पादन बजारमा आइसक्थ्यो,’ श्री स्टिलका सञ्चालक राजेशकुमार अग्रवालले भने, ‘हामीले अहिले पनि प्राइमरी र सेकेन्डरी रड बनाइरहेका थियौं । अब थप लगानी गरेर बिलेट बनाउने भट्टीसमेत लगाइएको हो ।’
उनका अनुसार एउटा भट्टीबाट दैनिक २ सय टन बिलेट बन्ने क्षमता जडान गरिएको छ । दुई वटाबाट दैनिक ४ सय टन बिलेट बनाउन सक्ने उद्योगको क्षमता छ । एउटा भट्टीले दिनमा १० पटकसम्म बिलेट बनाउँछ ।
त्यो भनेको दुई सय टन हुन्छ । श्रीले लगाएको नयाँ भट्टी चलाउन १८ मेगावाट बिजुलीको आवश्यकता पर्छ । उद्योगले भट्टीबाट बिलेट बनाएर रि–हिट नगरी सिधै रड बनाउने अग्रवाल बताउँछन् ।
त्यसैगरी, उद्योगसँग हाल दैनिक ८ सय टन रड उत्पादन गर्ने क्षमता छ । उद्योगले आवश्यकता हेरेर रड उत्पादन गरिरहेको छ । कम्पनीले बिलेट बनाउने भट्टी सञ्चालनमा ल्याएपछि विदेशबाट बिलेट नमगाउने र आफूले उत्पादन गरेको बिलेटबाट रड बनाउने योजना छ ।
प्राइमरी बिलेटबाट ५०० डी रड बन्छ । ५०० एसी भनेको स्क्राब पगालेर बनाइरहेको रड हो । श्रीले दुवै रड बनाउँदै आएको छ । तर, त्यसको गुणस्तरका खासै ठूलो फरक नपर्ने अग्रवाल बताउँछन् ।