नेपालको आधा जनसङ्ख्या ब्रोडब्यान्ड इन्टरनेट पहुँचमा

नेपालमा इन्टरनेट ब्रोडब्यान्डको पहुँच कुल एक करोड ४३ लाख २५ हजार दुई सय ४६ जनामा पुगेको प्राधिकरणले जानकारी दिएको छ ।

नेपालमा झन्डै आधा जनसङ्ख्याको पहुँचमा ब्रोडब्यान्ड इन्टरनेट पुगेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले हालै सार्वजनिक गरेको एमआईएस रिपोर्टअनुसार नेपालको ४९ प्रतिशत जनसङ्ख्या ब्रोडब्यान्ड इन्टरनेट पहुँचमा पुगेको हो ।

त्यसमध्ये ९ दशमलव ७१ प्रतिशत फिक्स्ड ब्रोडब्यान्ड (वाइड), एक दशमलव शून्य ५ प्रतिशत वायरलेस ब्रोडब्यान्ड र मोबाइल ब्रोडब्यान्डको पहुँचमा ३८ दशमलव १४ प्रतिशत पुगेको छ । नेपालमा इन्टरनेट ब्रोडब्यान्डको पहुँच कुल एक करोड ४३ लाख २५ हजार दुई सय ४६ जनामा पुगेको प्राधिकरणले जानकारी दिएको छ ।

फिक्स्ड ब्रोडब्यान्ड लाइन प्रयोग गर्ने २८ लाख ४५ हजार चार सय ४५ रहेको प्राधिकरणको तथ्याङ्क छ । त्यसमध्ये एडीएसएलमार्फत प्रयोग गर्ने नेपाल टेलिकमका ९ लाख ८४ हजार ३ सय ४५, केबलबाट टेलिकमका २ हजार ६ सय ५०, आईएसपीएसमार्फत १८ लाख ६० हजार ५ सय ८८ गरी १८ लख ६० हजार ५ सय ८८ प्रयोगकर्ता रहेको प्राधिकरणले जानकारी दिएको छ ।

इन्टरनेट लिजलाइनबाट इन्टरनेट प्रयोग गर्ने भने ५ सय २ छन् । त्यस्तै फिक्स्ड ब्रोडब्यान्ड वायरलेसबाट इन्टरनेट प्रयोग गर्ने तीन लाख ८७ हजार ४५ पुगेका छन् । तीमध्ये रेडियो वाइफाईका २ लाख २२ हजार ४ सय ८९, वाईम्याक्सका ८५ हजार ३ सय ७६ पुगेको तथ्याङ्कमा उल्लेख छ । मोबाइल ब्रोडब्यान्ड इन्टरनेटमा टेलिकम र एनसेल अग्रस्थानमा छन्, जसमा नेपाल टेलिकमका ६० लाख २७ हजार ८ सय १३ प्रयोगकर्ता छन् ।

थ्रीजीबाट सेवा लिने ४२ लाख ४३ हजार ६ सय १५ पुगेको टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन् । फोरजीमार्फत ५ लाख ७४ हजार ७ सय ५२ रहेको उनको भनाइ छ ।

हाल टेलिकमको फोरजी दुई सहरमा मात्रै सेवा दिइरहेका कारण फोरजीमा पर्याप्त प्रयोगकर्ता बढ्न नसकेको उनले बताइन् । अहिले टेलिकमको फोरजी काठमाडौं र पोखरामा मात्रै रहेको वैद्यले जनाइन् ।
एन्सेलमार्फत मोबाइल ब्रोडब्यान्ड इन्टरनेट प्रयोग गर्ने ६१ लाख २० हजार ७ सय पुगेका छन् ।

यसमध्ये थ्रीजी प्रयोगकर्ता ५० लाख ८२ हजार ५ सय ८६ र फोरजी प्रयोगकर्ता १० लाख ३८ हजार १ सय ६३, एसटीपीएलका ३३ हजार ५४ प्रयोगकर्ता रहेको जनाइएको छ । एनसेलले हाल २१ भन्दा बढी सहरका फोरजी विस्तार गरिसकेको छ ।

गत चैतको तुलनामा वैशाखमा ४ लाख ६७ हजार १ सय ८८ जना प्रयोगकर्तामा ब्रोडब्यान्ड इन्टरनेट पहुँच बढेको बताइएको छ । चैतमा ब्रोडब्यान्ड इन्टरनेट १ करोड ३८ लाख ५८ हजार ५८ ले प्रयोग गरेका थिए भने वैशाखमा त्यो सङ्ख्या बढेर १ करोड ४३ लाख २५ हजार दुई ४६ भएको छ ।

प्राधिकरणका अनुसार ईभीओडीओ प्रयोग भने एक लाख ९९ हजार सात सय ७६ पुगेको छ ।
मोबाइल ब्रोडब्यान्ड इन्टरनेट प्रयोगकर्ता बढे

चालू आर्थिक वर्षको १० महिनासम्म मोबाइल ब्रोडब्यान्ड इन्टरनेट प्रयोगकर्ता १ करोड ११ लाख ७१ हजार ९ सय ७६ पुगेका छन् । गत चैतमा भने १ करोड ७ लाख ८१ हजार ८ सय १४ रहेको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ ।