नेप्सेमा दोहोरो अङ्कको गिरावट, कारोबार १९ करोड

आइतबार नेप्सेमा वर्गीकृत १० समूहमध्ये सबै समूहमा गिरावट आएको छ । सबैभन्दा बढी बिमामा ८९ दशमलव शून्य ३ अङ्कको गिरावट आएको छ ।

केही दिनयता घट्दै आएको सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से)मा कारोबार सुरु भएको साताको पहिलो दिन दोहोरो अङ्कले गिरावट आएको छ । एक हजार १ सय ९८ दशमलव ९३ अङ्कबाट सुरु भएको नेप्से १४ दशमलव १ अङ्कले गिरावट आउँदै एक हजार १८४ दशमलव ५३ अङ्क कायम भएको छ ।

कारोबार सुरु भएदेखि नै ओरालो लागेको नेप्सेमा दोहोरो अङ्कले गिरावट आएको हो । अघिल्लो साताको अन्तिम दिन बिहीबार नेप्सेमा तीन हजार तीन सय ६२ कारोबारबाट ११ लाख ४८ हजार तीन सय ६९ कित्ता खरिदबिक्री भई २४ करोड २९ लाखबराबरको कारोबार भएको थियो । उक्त दिन नेप्सेमा शून्य दशमलव ८८ अङ्कको गिरावट आएको थियो । आइतबार भने नेप्से घटेसँगै बिहीबारको तुलनामा कारोबार रकम पनि करिब पाँच करोड रुपैयाँले घटेको छ ।

बजार दोहोरो अङ्कले घटेको दिन आज नेप्सेमा तीन हजार ६ सय ८३ कारोबारबाट ६ लाख १९ हजार ७४१ कित्ता सेयर खरिदबिक्री भई १९ करोड ७२ लाख ६२ हजार रुपैयाँबराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा वर्गीकृत १० समूहमध्ये सबै समूहमा गिरावट आएको छ । सबैभन्दा बढी बिमामा ८९ दशमलव शून्य ३ अङ्कको गिरावट आएको छ ।

यस्तै लघुवित्त समूहमा २५ दशमलव ७४ अङ्क, विकास बैङ्क समूहमा २० दशमलव १४ अङ्क, होटल समूहमा १८ दशमलव ६४ अङ्क र बैङ्किङ समूहमा १२ दशमलव १४ अङ्कले गिरावट आएको छ । साथै जलविद्युत् समूहमा १५ दशमलव ७ अङ्कले गिरावट भएको छ भने फाइनान्स, उत्पादनमूलक र अन्य समूहमा एकल अङ्कले गिरावट आएको छ ।

कारोबार सुरु भएको पहिलो दिन आइतवार सबै समूहमा गिरावट आए पनि आरम्भ माइक्रोफानान्स वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् । यस्तै, तिनाउ डेभलपमेन्ट बैङ्का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् ।