जग्गाको मूल्याङ्कन वैज्ञानिक नहुँदा समस्यामा बैङ्क

बैङ्क तथा वित्तीय संस्थाले प्रवाह गरेको कुल ऋणमध्ये ८५ प्रतिशत धितो जग्गा तथा त्यसमा बनेको घर हुने गरेको छ ।

जग्गाको मूल्याङ्कन वैज्ञानिक नहुँदा बैङ्क तथा वित्तीय संस्था समस्यामा पर्ने गरेका छन् । जग्गाको मूल्याङ्कन विधि यथार्थपरक नहुँदा आफ्नै ढङ्गले त्यसको मूल्याङ्कन गर्ने भएकाले समस्या हुने गरेको हो ।

प्रभू बैङ्कका प्रमुख कार्यकारी अधिकृत अशोक सेरचनले जग्गाको मूल्याङ्कन जटिल भएकाले वैज्ञानिक र सुरक्षित तरिकाले नगरिँदा बैङ्किङ क्षेत्रलाई समस्या भएको बताए । “जग्गा मूल्याङ्कन गर्न जिम्मेबार कुनै काउन्सिल जस्तै निकाय भए विश्वास योग्य हुन्थ्यो र बैङ्कहरुको ध्यान व्यवसायमा केन्द्रित हुन्थ्यो” उनले भने, “जग्गाको मूल्याङ्कन जटिल हुँदा बैङ्कहरु समस्यामा परेका छन् ।”

खासगरी बैङ्क तथा वित्तीय संस्थाले ऋण लगानी गर्दा लिइने धितो जग्गा र त्यसमा निर्मित घर हुने गरेको छ । अहिले पनि बैङ्क तथा वित्तीय संस्थाले प्रवाह गरेको कुल ऋणमध्ये ८५ प्रतिशत धितो जग्गा तथा त्यसमा बनेको घर हुने गरेको छ । बैङ्कहरुले आ–आफ्ना मूल्याङ्कनकर्ताबाट आ–आफ्नो हिसाबले मूल्याङ्कन गरि ऋण प्रवाह गर्छन् ।

बुधवार राजधानीमा आयोजित ‘नेपालमा अचल सम्पत्तिको मूल्याङ्कन’ गोष्ठिमा कृषि, भूमि व्यवस्थापन तथा सहकारी मन्त्री चक्रपाणि खनालले नेपालमा जग्गाको वर्गीकरण निकै अवैज्ञानिक रहेको बताए । “यसलाई वैज्ञानिक वर्गीकरण र मूल्याङ्कन पद्धतिको विकास गर्नुपर्ने छ” मन्त्री खनालले भने, “अहिले बनिसकेका र बन्दै गरेका सबै संरचना जोखिमपूर्ण, अव्यवस्थित र अमर्यादित छन् ।” जमिनको वर्गीकरणलाई निश्चित मापदण्डमा ल्याउन मूल्याङ्कनका लागि विभिन्न आधारहरु तय गरिने मन्त्री खनालले बताए ।

त्यसअवसरमा नेपाल इन्टिच्यूट अफ चार्टर्ड सर्भेयर्सका अध्यक्ष पुण्यप्रसाद ओलीले नाप नक्साको मान सानो भएको, सबै स्थानका श्रेस्ता डिजिटलरुपमा प्राप्त नहुने, हाल घरको भन्दा जग्गाको मूल्य अधिक भएको जस्ता समस्याहरु देखाए ।

कार्यक्रममा पूर्व नापी महानिर्देशक बुद्धिनारायण श्रेष्ठले मूल्याङ्कन पद्धतिलाई वैज्ञानिक र एकरुपता ल्याउन मूल्याङ्कनकर्ताको शैक्षिक योग्यता, व्यवसायिक तालिम, अनुभव तोकिनुपर्ने बताए ।

त्यसैगरी अनुमतिपत्र लिनुपर्ने, मूल्याङ्कन मापदण्ड निर्धारण हुनुपर्ने, मूल्यांकन ऐन तथा नियमावली तयार गर्नुपर्नेमा उनले जोड दिए ।

त्यस्तै, राष्ट्रिय सहकारी बोर्डका अध्यक्ष दक्ष पौडेलले सम्पत्तिको मूल्याङ्कन वैज्ञानिक र दक्ष हुनुपर्नेमा जोड दिँदै अन्तर्राष्ट्रियस्तरमा विभिन्न कानुनहरु भएपनि नेपालमा त्यसअनुसार काम अघि नबढेकोमा दुःख व्यक्त गरे ।