काठमाडौं । कोभिड महामारीसँग जुझ्न नेपाललाई आपत्कालीन सहयोग आवश्यक रहेको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले बताएका छन्।
शुक्रवार नियमित प्रेस सम्मेलनमा बोल्दै डा. गेहब्रेयससले भारत मात्रै नभई नेपाल, भियतनाम, क्याम्बोडिया, थाइल्यान्ड र इजिप्ट जस्ता देशहरूमा पनि सङ्क्रमण र अस्पताल भर्ना ह्वात्तै बढेको बताएका हुन्।
अफ्रिका र अमेरिका महादेशका केही देशहरूमा पनि सङ्क्रमण बढेको बताउँदै उनले यी देशहरू सङ्क्रमणसँग जुझ्न उच्च सङ्घर्षको अवस्थामा रहेको बताए।
डा.गेहब्रेयससले भने, डब्ल्यूएचओले सबै तरिकाबाट सम्भव भएसम्म सहयोगलाई निरन्तरता दिनेछ। सरकारका वरिष्ठ स्वास्थ्य अधिकारीले भने आपत्कालीन सहयोग आवश्यक रहेको भन्ने धारणा डब्ल्यूएचओको मात्र भएको र नेपालले अहिलेसम्म त्यस्तो नठानेको र सरकार व्यवस्थापन गर्न सक्ने अवस्थामै रहेको बताएका छन्।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सङ्क्रमित सङ्ख्या बढिरहेको देखेर डब्ल्यूएचओको त्यस्तो मूल्याङ्कन आएको हुनसक्ने बताए।
डा.गौतमले भन्छन्, सङ्क्रमितको सङ्ख्या जसरी बढेको थियो, पाँच दिनयता स्थिर छ। शुक्रवार केही घटेको छ। एक सातामा अझ कम हुन्छ होला
गौतमले यस बीचमा विशेष अवस्था भनेर डब्ल्यूएचओसँग कुनै विशेष सहायता नमागिएको बताए। उनले भने, डब्ल्यूएचओले त्यस्तो ठानेको भने उसको औपचारिक भनाइ आएपछि सरकारले त्यसबारे आवश्यक निर्णय गर्नेछ।
यस्तो छ नेपालको अवस्था
नेपालमा हालको सङ्क्रमण दर र मृत्युदर तुलनात्मक रूपमा खराब छ। गएको दुई सातामा नेपालमा १ लाख १० हजार ७६५ जनाको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाउँछ। त्यस्तो सो अवधिमा १ हजार ३७१ जनाको मृत्यु पुष्टि भएको छ।
हालसम्म ४ हजार ६६९ को मृत्यु भएको छ । तीमध्ये १ हजार ३७१ जनाको मृत्यु गत दुई सातामा भएको हो। ४ लाख ३९ हजार ६५८कुल सङ्क्रमित सङ्ख्या। तीमध्ये एक चौथाइभन्दा बढी गत दुई सातामा थपिएका हुन्।
३ लाख २७ हजार ६५३कुल सङ्क्रमणमुक्त व्यक्तिको सङ्ख्या। यीमध्ये १४ प्रतिशत गत दुई सातामा सङ्क्रमणमुक्त भएका हुन्। तर, स्वास्थ्य प्रवक्ताले आपत्कालीन अवस्थाको रूपमा कुनै विशेष सहयोग नलिईकन डब्ल्यूएचओबाट घटना पहिचान र त्यसलाई नियन्त्रणमा राख्न नेपाल कार्यालयबाट सामान्य सहयोगहरू मात्र लिइरहेको बताएका छन्।
उनको भनाइ छ, नेपालको जोड सरसहयोग लिन परे भारत र चीनसँगै पहिले पहल गर्ने छ। त्यहाँबाट आपूर्तिहरू पनि सहज रूपमा गर्न सकिन्छ।
ूनेपालमा सङ्क्रमण सुरु भएयता कुल सङ्क्रमितको २५ प्रतिशत गत दुई सातामा थपिएका हुन् भने कुल मृत्युको २९ प्रतिशत मृत्यु गएको दुई सातामा भएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।
शुक्रवारसम्म नेपालका राजधानी काठमाडौंमा ३० हजार ४५२ जना सक्रिय सङ्क्रमित छन् भने अन्य दुई जिल्ला रुपन्देही र ललितपुरमा सात हजारभन्दा बढी सक्रिय सङ्क्रमित छन्। थप चार जिल्लामा ३५ सयभन्दा बढी, थप पाँच जिल्लामा दुई हजारभन्दा बढी सक्रिय सङ्क्रमित छन्।
कुल १९ जिल्लमा १ हजार भन्दा बढी सक्रिय सङ्क्रमित छन् भने थप १५ जिल्लामा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित रहेको मन्त्रालयको तथ्याङ्क छ।
नेपालमा बिरामीका लागि आवश्यक पर्ने अक्सिजन अभाव उच्च रूपमा बढेको र अस्पतालमा शय्या र चिकित्सकहरू अभाव रहेका विवरण आएका छन्। तर, निको हुनेको दर केही बढे तापनि शुक्रवार मात्र ८ हजार ५२० सङ्क्रमित थपिँदा ६ हजार १३५ निको भएको विवरण सार्वजनिक भएको थियो। (बीबीसीको सहयोगमा)