काठमाडौं । नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा भर्ना भएका बिरामी तथा तीनका आफन्तहरूलाई २ महिनासम्म खान पुग्ने खाद्यान्न केएल दुगड गु्रपले उपलब्ध गराउने भएको छ । कोरोना संक्रमित र उनीहरूको कुरुवालाई लक्षित गर्दै स्थानीय समाजसेवीले सञ्चालन गरेको सहुलियत खाना कार्यक्रमलाई केएल दुगड गु्रपले २ महिनालाई पुग्ने चामल र दाल उपलब्ध गराउने भएको हो ।
बाँके र यस आसपासको जिल्लाहरूबाट आएका संक्रमित र तीनका कुरुवा आफन्तहरूलाई खानाको समस्या भएपछि स्थानीय समाजसेवीले सहुलियत मूल्यमा खाना खुवाउने प्रबन्ध मिलाएका छन् । प्रत्येक दिन बिहान २ सय जना र बेलुका २ सय जना संक्रमित तथा तीनका कुरुवालाई खाना खुवाउने लक्ष्यका साथ सहुलियत खाना कार्यक्रम सञ्चालनमा ल्याइएको कार्यक्रमकामा अशोक कोइरालाले बताए ।
‘बाहिर निषेधाज्ञा, कोरोनाका बिरामी कुरुवालाई खाना खुवाउन होटल व्यवसायी डराइरहेको अवस्था र किनेरै खान्छुभन्दा पनि पानीसमेत नपाएको कारुणिक अवस्था देखेपछि हामीले अभियान चलायौं,’ कोइरालाले भने ।
सहुलियत खाना कार्यक्रममा प्रतिछाक खाना ३० रुपैयाँमा उपलब्ध हुने र संक्रमितहरूका लागि हरेक दिन अण्डाको पनि व्यवस्थापन गरिएको छ । कार्यक्रम मा २ महिनालाई आवश्यक पर्ने खाद्यान्न केएल दुगड समूहले सहयोग गरेको छ भने अन्य आवश्यक सामग्री नेपालगन्जस्थित अन्य उद्योगी व्यवसायीहरूले सहयोग गरेका छन् ।
संक्रमित र संक्रमितका कुरुवाले भोग्नु परेको समस्यालाई मध्यनजर गर्दै सामाजिक उत्तरदायित्वअन्तर्गत २ महिनालाई आवश्यक चामल र दाल उपलब्ध गराइएको केएल दुगड गु्रपका प्रबन्धक प्रदीप छाजेडले बताए ।
‘संक्रमित र कुरुवालाई निकै समस्या परेको थियो, स्थानीय समाजसेवी तथा नेता साथीहरूले प्रस्ताव ल्याउनु भयो हामीले चामल र दाल दिन्छौं भन्यौं,’ छाजेडले भने । बाँके र यस आसपासबाट आएका संक्रमित तथा संक्रमितका कुरुवाहरूले खाना, नास्ता र पानीसमेत नपाउँदा समस्या भोग्न बाध्य थिए ।