काठमाडौं । हिमालय एयरलाइन्सले अफगानिस्तानको काबुलतर्फ आफ्नो पहिलो निःशुुल्क कार्गो उडान गरेको छ ।
नेपाल सरकार, परराष्ट्र मन्त्रालयको अनुरोधमा झन्डै अमेरिकी डलर १०६,८५० बराबरको राहत सामाग्री बोकी हिमालय काबुल उडेको हो ।
जहाज आइतबार बिहान ९ः१७ बजे काबुल गएको हो । जहाजमा अत्यावश्यकीय राहत सामाग्रीअन्तर्गत औषधि, खाद्यान्न, लत्ताकपडा, जुत्ता, ब्लांकेट लगायतका सामाग्री थिए । जहाजमा गएको १५ सदस्यीय टोलीमा परराष्ट्र मन्त्रालयका पदाधिकारीहरू, विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू, सञ्चार क्षेत्रका प्रतिनिधि र अवैतनिक वाणिज्य दूतहरू रहेका छन् ।
काबुल उडान भर्नुपूर्व त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै परराष्ट्र मन्त्री डा. नारायण खड्काले मित्र राष्ट्र अफगानिस्तानलाई आइपरेको मानवीय समस्यामा नेपाली जनताका तर्फबाट सहयोगी हात बढाउनु नेपाल सरकारको नैतिक जिम्मेवारी भएको स्पष्ट पारे । मानवीय कार्यमा पूर्णतया निःशुल्क कार्गो उडानमार्फत सहयोग पुर्याएकोमा हिमालय एयरलाइन्सलाई विशेष धन्यवादसमेत दिएका थिए ।
एयरलाइन्सका अध्यक्ष झोउ एन्योङले सरकारद्वारा अफगानी जनताका लागि मानवीय सेवा पुर्याउने पवित्र उद्देश्यका साथ यस्ता खालका परोपकारी उडान गर्न अनुरोध गर्नु नै ठूलो सम्मानको विषय भएकाले सरकारको साथमा साथ दिन पाउँदा खुसी लागेको बताए ।
यस्तै उपाध्यक्ष विजय श्रेष्ठले आफू भौगोलिक सीमा र दूरीको परवाह नगरी विपद्मा अफगानी जनताको साथ उभिन पाउँदा अत्यन्तै हर्षित भएको बताउँदै भविष्यमा पनि यस्ता सम्भाव्य मानवीय सहयोग पुर्याउने कार्यमा नेपाल सरकारका साथ उभिन सदैव तत्पर रहने प्रतिबद्धता जनाए ।
राहत संयुक्त राष्ट्र संघको सहयोगी निकायको कक्षमा सामाग्री हस्तान्तरण गरी जहाज आइतबार नैै नेपाल फर्किनेछ ।