कोभिड १९ को एकपछि अर्को लहर देखिन थालेपछि पोखराका पर्यटन व्यवसायी चिन्तित बनेका छन् । खोपको सहजतासँगै विस्तारै चलायमान बन्दै गएको पोखराको पर्यटनमा कोभिडको तेस्रो लहर ओमिक्रोनको संक्रमणदर बढ्न थालेपछि व्यवसायीमा चिन्ता थपिएको हो ।
पछिल्लो समय निकै आशलाग्दो बनेको पोखराको पर्यटनमा ओमिक्रोनको बढ्दो दरले व्यवसायीलाई चिन्तित बनाएको पर्यटन व्यवसायीहरुको छाता संगठन पोखरा पर्यटन परिषदका अध्यक्ष गोपीबहादुर भट्टराईले बताए । उनले भने 'लामो समय पछि पोखराको पर्यटन चलायमान बन्दै गएको थियो, ‘माइस टुरिज्म’ र सडक महोत्सवले पनि आशा जगाएको थियो । पुनः तेस्रो लहर र सरकारका सूचनाहरुले पुनः लकडाउने हुने संकेत गरेपछि चिन्तित बनाएको छ ।' ओमिक्रोनका कारण मार्च अप्रिल महिनाका लागि हिमाल आरोहण, पदयात्रा लगायतका लागि बुकिङ भएका होटलहरु पनि विस्तारै रद्द हुने संभावना बढ्दै गएको उनले बताए ।
पोखरामा अन्तराष्ट्रिय विमानस्थल निर्माण कार्यसँगै पर्यटन क्षेत्रमा व्यवसायीले निकै आक्रामक तरिकाले लगानी गरेको तर कोरोना त्रास र सरकारको पर्यटन मैत्री नीति अभावले सबै लगानी जोखिममा पर्ने चिन्ता व्यवसायीमा रहेको उनले बताए ।
'सरकारले पर्यटनलाई उद्योगको मान्यता नदिँदा र पर्यटन मैत्री नीति नल्याउँदा यस क्षेत्रको लगानी जोखिममा हुने डर व्यवसायीमा छ ।' भट्टराईले भने । सरकारले पर्यटन पूर्वाधारमा ध्यान नदिएको, व्यवसायीलाई प्रदान गर्न सकिने छुटमा तीनै तहका सरकार जिम्मेवार बन्न नसकेको साथै पर्यटन क्षेत्रका मजुदरका विषयमा पनि सरकारले कुनै कार्यक्रम ल्याउन नसकेको उनले गुनासो गरे ।
प्रकृतिले वरदान दिएको सहर पोखरामा पर्यटकको बसाइ लम्बाउन र थप मनोरञ्जन प्रदान गर्न थप साहसिक गतिविधिमा जोड दिदै आएको हाइग्राउण्ड एडभेन्चर नेपाल प्रालिका निर्देशक दिनेश महर्जनले पनि लगानी जोखिममा हुने हो कि भन्ने चिन्ता थपिएको बताए ।
एकै थलोमा बञ्जी, जिपलाइन, सुपरम्यान जिपलाइन र पछिल्लो समय जायन्ट स्विङ सञ्चालनमा ल्याएको जनाउँदै महजर्नले भने “हामीले पछिल्लो समय साहसिक खेलमा लगानी निकै बढाएका छौँ, तर पर्यटक आउने बातावरण छैन, एक पछि अर्को भेरियन्टका समाचारले चिन्तित बनाएको छ” उहाँले आशावादी हुनुको विकल्प नरहेको भन्दै कोरोना छिट्टै हराएर पुनः पोखराको पर्यटनले गति लिने विश्वास व्यक्त गरे ।
पोखरालाई साहसिक गतिविधिको शहरको रुपमा पनि चिनाउन आफूहरुले साहासिक खेल भित्रयाएको महर्जनको भनाइ छ । प्रालिले पोखरामा २०१२ देखि साहासिक खेल भित्रयाएको हो । उनका अनुसार साहसिक खेलका लागि ४ युवाले २५ करोड लगानी भइसकेको छ ।
होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले चाडवाडपछि पोखराको पर्यटनमा निकै राम्रो चलायमान भएकोमा पछिल्लो भेरियन्टले शुन्यता तर्फ झार्दै लगेको बताए । “निकै राम्रो थियो दशैतिहार पछि प्रायः होटल ४० देखी ६० प्रतिशतको अकुपेन्सि थियो, लोकसेवाका परिक्षा, विभिन्न संघ संस्थाको सेमिनार गोष्ठि, बैठक, पार्टीका अधिवेशन लगायतले होटल बुकिङ राम्रो थियो, अहिले १० प्रतिशत भन्दा तल झरेको छ ।”
उनले ओमिक्रोनका कारण पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम ‘जाउँ है पोखरा’ पनि प्रभावित भएको बताए । सुवेदीका अनुसार पोखरामा करिब सात सय पर्यटकीय स्तरका होटलहरु छन् । पोखराको पर्यटनमा करिब चार खर्ब लगानी र पचास हजारले रोजगार प्राप्त गरेको व्यवसायीहरुले बताउँदै आएका छन् ।
पोखरा आन्तरिक तथा बाह्य पर्यटकको रोजाइको शहर भएकाले कोभिड र कोभिड पछिको समयमा कसरी पर्यटकलाई आतिथ्यता प्रदान गर्ने भन्ने स्पष्ट मापदण्ड तयार गरेर पर्यटन क्षेत्र सधै खुला गर्नु पर्ने नेपाल पर्यटनबोर्डका पूर्व सदस्य बासु त्रिपाठीले बताउँछन् । 'हामी सधै एउटै कुरा र एउटै सोचमा अल्झेउ अब कोभिड पछाडि कसरी पर्यटन क्षेत्रलाई सुरक्षित र चलायमान बनाउने भन्ने विषयमा नवितम सोचको बारेमा छलफल जरुरी छ ।' उनले बताए ।
नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख काशिराज भण्डारीले कोरोनाको तेस्रो लहरले पर्यटन क्षेत्रलाई केही असर पार्ने भएपनि यो क्षणिक हुने विश्वास व्यक्त गरे । “कोरोनाको प्रत्यक्ष असर पर्यटनमा देखिन्छनै, तर तेस्रो भेरियन्ट समाचारमा आए अनुसार त्यति शक्तिशाली देखिएको छैन, छिट्टै हराउँछ भन्ने लागेको छ, स्वास्थ्य सतर्कता पूर्ण अपनाउन सक्यौं भने यसलाई जित्न सकिन्छ ।” उनले गण्डकी प्रदेशको पर्यटन प्रर्वद्धनका लागि तीन करोड बजेट रहेको र आधा भन्दा बढी पूर्वाधारमा खर्च भएकाले पनि पर्यटन प्रवद्र्धनका लागि प्रभावकारी कार्यक्रममा रकम अभाव हुने गरेको उनले बताए । (रासस)