काठमाडौं । मेलम्ची नदीमा आएको भीषण बाढीका कारण सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची क्षेत्रबाट कैयौँ मानिसहरू विस्थापित भएको र ७ जनाको मृत्यु भएको छ ।
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले मेलम्ची नदीमा मङ्गलवार साँझबाट आएको बाढीले हेलम्बु र मेलम्ची क्षेत्रमा जनधनको क्षति पुर्याएको बताए। खोज तथा उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालित भएको उनले बताए।
पछिल्लो समयमा हेलम्बु र मेलम्चीमा पानीको सतह बढेको भन्दै मानिसहरूलाई सुरक्षित क्षेत्रमा जान आह्वान गरिएको स्थानीय प्रशासनले जनाएको छ। सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी पोखरेलले अहिलेसम्मको विश्लेषणले हेलम्बुमा बढी क्षति पुगेको आङ्कलन गरिएको बताए।
उनले भने, रातिनै मानिसहरू बाढीबाट बाँच्न विभिन्न सुरक्षित स्थलतर्फ जाने क्रम रहेको र तीमध्ये कतिपय मानिसहरू बिहानीसम्म सम्पर्कमा आइसकेको अवस्था छ। अहिलेसम्म सात जनाले ज्यान गुमाएका छन् र चारवटा पुल अनि केही झेलुङ्गे पुलमा झति पुगेको छ।
सिन्धुपाल्चोक प्रहरीका प्रवक्ता डीएसपी प्रकाश सापकोटाका अनुसार हेलम्बु र मेलम्चीमा क्षतिको विवरण सङ्कलन भइरहेको छ। उनले भने, हामी स्थानीय पालिकाहरूसँग समन्वय गरेर आँकडाहरू सङ्कलन गर्दैछौँ।
उनले बाढीले घरहरूलाई क्षति पुर्याएको भए पनि त्यसको विस्तृत विवरण आइनसकेको बताए। अझै पनि पानीको सतह उच्च नै रहेको र लेदो सहितको बाढीको अवस्था रहेको प्रहरीको भनाइ छ।
स्वास्थ्य मन्त्री शेरबहादुर तामाङले बाढीले भीषण क्षति पुर्याएको र आफूले बुधवार त्यसक्षेत्रको निरीक्षण गर्ने बताएका छन्। उनले बाढी पीडितहरूलाई सहयोग गर्न अनुरोध गर्दै क्षति भएका बस्तीहरूमा तुरुन्तै पाल र खाद्यान्न पुर्याउने बताए। नेपालमा औपचारिक रूपमा मनसुन सुरु भएको एक साता नबित्दै भीषण बाढी आएको हो।
राष्ट्रिय प्रतिकार्य योजना घोषणा गर्दै सरकार
यसैबीच बाढीले वितण्डा मच्चाउन थाल्दै गर्दा बुधवार विभिन्न किसिमका विपद् नियन्त्रणसम्बन्धी राष्ट्रियस्तरको कार्ययोजना पारित गर्ने तयारी सरकारले गरेको छ।
सबै जिल्ला प्रशासन कार्यालयहरूलाई खोज, उद्धार तथा राहतका लागि आवश्यक सामग्री तयारी अवस्थामा राख्न र थप सामान आवश्यक परे मन्त्रालयमा समन्वय गर्न भनिएको गृह मन्त्रालयले जनाएको छ।
१९७ खोला र नदीमा जल स्तर मापन गर्ने व्यवस्था मिलाइएको र बहाव बढेमा ८५ स्थानबाट बस्तीसम्म पूर्वसूचना दिने प्रबन्ध गरिएको बताइएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्ष झन्डै १८ लाख जनसङ्ख्या बाढी, पहिरो तथा डुबानबाट प्रभावित हुने अनुमान गरेको छ। त्यसमध्ये चार लाख जनालाई उद्धार र राहत चाहिन सक्ने बताइएको छ।
स्थानीय तह र जिल्लाले मनसुन पूर्व तयारी तथा प्रतिकार्य योजना बनाइसकेको र राष्ट्रिय स्तरको कार्य योजना बुधवार पारित गरिने बताइएको छ। बीबीसीकाे सहयोगमा