काठमाडौं । सेयर बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले केही दिनदेखि कम्पनीको सम्पूर्ण अवस्था हेरेर मात्रै सेयर खरिद गर्न लगानीकर्तालाई आग्रह गरिरहेको थियो ।
प्रतिसेयर आम्दानी ऋणात्मक भएको, प्रतिसेयर अंकित मूल्यभन्दा नेटवर्थ कम भएका, कम्पनीको वर्तमान वित्तीय क्षमताको मूल्यांकनसमेतलाई विश्लेषण गरेर मात्रै लगानीकतालाई सेयर किन्न भनेको थियो ।
त्यति मात्रै होइन्, माथि उल्लिखित अवस्था भएका कम्पनीको सेयर मूल्य सर्कुलर कारोबार, कर्नरिङ कारोबार लगायतका घृणित कामसमेत भइसकेको बोर्डले लगानीकर्तालाई भनिरहेको थियो ।
तर, बोर्डले लगानीकर्तालाई बारम्बार सचेत गराउँदा पनि उनीहरुले ध्यान दिएका थिएनन् । विगत एक हप्तादेखि बोर्डले बजारले सुशासन गुमाएको, अनियन्त्रित भएको भन्ने अभिव्यक्ति दिनुले भित्री रुपमा बोर्डले कुनै निर्णय लिने संकेत गरेको थियो । तर, पनि लगानीकर्ताले त्यही खराब कम्पनीमा लगानी गरिरहे ।
बोर्डले बजारप्रति लगानीकर्ताको बढिरहेको विश्वास नटुटाउन मंगलबार यस्तो निर्णय लिएको हुनसक्ने ठूला लगानीकर्ताहरु बताउँछन् । ठूला लगानीकर्ताको चिन्ता पनि त्यही थियो । बजारमा स–सानो पुँजी लगाउनेहरु फसेभने त्यसले समग्र बजारप्रतिको बुझाइ नै नकारात्मक बन्ने र पुँजी बजारप्रतिको विश्वास गुम्न सक्ने आँकलन समेत हुन थालेको थियो ।
पछिल्लो समय बजारले सुशासन गुमाउँदा समेत नियामक निकायले कुनै कदम चाल्न सकेन भनेर बोर्डको आलोचना भइरहेको थियो । त्यही भएर बोर्डले हरेक हिसावले समस्यामा परेका ५१ वटा कम्पनीमा गरिएको लगानी जोखिम रहेको भनेको हो ।
अहिले बजारमा दुई थरी बहस चलिरहेको छ ।
१. बोर्डले कुन कम्पनीको सेयर किन्ने र कुन कम्पनीको सेयर बेच्ने भनेर यसरी सूची निकाल्न मिल्छ ?
२. बोर्डले सोझा साझा लगानीकर्तालाई ‘सुसाइड’ गर्नबाट जोगाएको छ । खासगरी, जो लगानीकर्तासँग ५१ कम्पनीको सेयर छ, उसको रोइलो बढि देखिन्छ । बोर्डले प्रकाशित गरेको सूचीमा ठूला र बुझेका लगानीकर्ताले लगानी गरेका छैनन् ।
तर, जो बजार भरखरै प्रवेश गरेको छ, उसैले मात्रै त्यस्ता कम्पनीको सेयर खरिद गरेको देखिन्छ । अहिले सबैभन्दा बढी उनीहरु नै कराइरहेका छन् ।
तर, ठूला लगानीकर्ता, जो कम्पनीको सम्पूर्ण अवस्था हेरेर सेयर किन्छन्, उनीहरुले सोझा साझा लगानीकर्तालाई सुसाइड गर्नबाट जोगाएको बताइरहेका छन् ।
सेयर विज्ञ डा. केशव श्रेष्ठका अनुसार बोर्डले सुशासन गुमाएको बजारलाई नियन्त्रण गर्नु ठीक भए पनि कम्पनीको सूची नै प्रकाशित गरेर कच्चा काम गरेको प्रतिक्रिया दिए । ‘बजारमा विकृत्ति बढेकै हो,’ उनले भने, ‘तर, त्यसलाई नियन्त्रण गर्ने अन्य कयौं उपायहरु थिए, त्यतातिर सोचिएन ।’
याे पनि पढ्नुस् ।
यी हुन सेयर बजारका जाेखिमपूर्ण कम्पनी