×

चट्याङले नेपाल टेलिकमका टावरमा क्षति, एक सातादेखि सञ्चारविहीन

images

बैतडी । चट्याङले बैतडीका विभिन्न स्थानमा रहेका नेपाल टेलिकमका टावरमा क्षति गर्दा यहाँका नागरिक सञ्चारविहीन भएका छन् । गत पुस २६ गते परेको चट्याङले दोगडाकेदारस्थित खोचलेक, श्रीभावर, कठपतेलगायतका टेलिकमका टावरमा क्षति गरेको हो ।  

नेपाल टेलिकमको टावरले काम नगर्दा स्थानीयवासीलाई सञ्चारको समस्या भएको छ । एक हप्तादेखि टेलिकमको नेटवर्क नआउँदा सञ्चारका लागि समस्या भएको स्थानीयवासीसमेत रहनुभएका नेकपा एमाले दोगडाकेदार गाउँपालिकाका अध्यक्ष काशीसिंह विष्टले जानकारी दिए। उनले भने, “एक हप्तादेखि सञ्चार सेवा अवरुद्ध छ, बैंकिङ काम र अन्य कामबाट पनि बञ्चित हुनुपरेको छ ।” 

नेपाल टेलिकम बैतडीलाई समस्या समाधानबारे जानकारी गराएको भए पनि हालसम्म पनि बन्न नसकेको स्थानीयवासीको आरोप  छ । यता नेपाल टेलिकम बैतडीका प्रमुख विक्रम टमाटाले भने यहाँका विभिन्न टावरमा परेको चट्याङले क्षति पुर्याएकाले नेटवर्कमा समस्या आएको बताए ।

खोचलेकमा रहेको टावरमा चट्याङले बढी क्षति गरेको र अन्यमा भने सामान्य क्षति पुगेको टमाटाले बताए । उनले भने, “अन्य स्थानका टावरमा सामान्य क्षति रहेको भए पनि खोचलेकमा रहेको टावरमा आगलागी भएर उपकरणमा पूर्ण क्षति भएको छ ।”
    
टावर मर्मतका लागि धनगढीबाट प्राविधिकको टोली आएर मर्मत सुरु गरिससकेको छ ।  उनले भने, “प्राविधिक टोली दुई दिनदेखि टावर मर्मतमै छ, आवश्यक केही सामान जिल्लामा उपलब्ध हुन समस्या भएको छ, एक/दुई दिनभित्रै समस्या समाधन हुन्छ ।” रासस

सोमबार ३ माघ २०७८ ०५:३१ PM मा प्रकाशित

प्रतिक्रिया