×

खुकुरीकाे नयाँ प्रडक्ट ‘स्पाइस्ड रम’  बजारमा

images

काठमाडौं । नेपालको प्रिमियम रम ब्रान्ड ‘खुकुरी’ले नयाँ प्रडक्ट ‘खुकुरी स्पाइस्ड रम’ बजारमा ल्याएको छ । विगत ६० वर्षदेखि खुकुरीले ‘खुकुरी ट्रिपल एक्स रम’ नेपाल र अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्दै आएको छ । ‘खुकुरी ट्रिपल एक्स रम’ प्रिमियम वर्गको मदिरामा पर्छ ।

रमका पारखीहरुले ‘खुकुरी ट्रिपल एक्स रम’मा विभिन्न मसलाजन्य पदार्थको मिश्रण गरी त्यसलाई स्पाइस्ड बनाएर पिउने गरेका छन् । ग्राहकहरुको सोही चाहनालाई ध्यानमा राखी खुकुरीले उत्कृष्ट समीश्रणबाट तयार ‘खुकुरी स्पाइस्ड रम’ बजारमा ल्याएको कम्पनीले जनाएको छ ।

यसअघिका वर्षहरुमा जापान र कोरियामा ‘खुकुरी स्पाइस्ड रम’ निर्यात हुने गरेको थियो । त्यहाँ निकै नै रुचाइएको गुणस्तरीय उत्पादन नै अहिले नेपाली बजारमा ल्याइएको कम्पनीले जनाएको छ ।

यो नयाँ स्वादको रम बजारमा उतार्नुअघि नेपालका विभिन्न क्षेत्र र विशेष गरी बुटवल र भैरहवामा ट्रायल गरिएको थियो । विशेष गरी ‘खुकुरी स्पाइस्ड रम’ निट वा कोलासँग पिउन ग्राहकहरुले औधी मन पराएको सो क्रममा पाइएको थियो ।

प्रिमियम ‘खुकुरी ट्रिपल एक्स रम’को तुलनामा विभिन्न थप उत्कृष्ट पदार्थ प्रयोग हुने र उत्पादनको प्रक्रियासमेत लामो र केही फरक हुने भएकाले ‘खुकुरी स्पाइस्ड रम’को बजार मूल्य ‘खुकुरी ट्रिपल एक्स रम’को भन्दा केही बढी हुने उत्पादक कम्पनी ‘द नेपाल डिस्टीलरिज’का महाप्रबन्धक सुभास लामिछानेले बताए । ‘यो प्रिमियम क्याटेगोरीको विशेष उत्पादन हो । त्यसैले स्वाद र गुणस्तरमा अझ विशेष छ’ उनले भने ।

विशेष रुपमा तयार गरिएको ‘स्पाइस्ड रम’ उत्पादन क्षमता र उत्पादन जटिलताले गर्दा सीमित परिमाणमा मात्र बजारमा जाने जनाइएको छ । चालू आर्थिक वर्षमा बढीमा ६ देखि ७ हजार केससम्म मात्र ‘स्पाइस्ड रम’ बजारमा पठाउन सकिने लामिछानेले बताए । ‘स्पाइस्ड रम’को उत्पादन क्षमता आगामी वर्षदेखि भने बढाउन प्रयास गरिने उनको भनाइ छ ।

सोमबार ३ माघ २०७८ ०५:०३ PM मा प्रकाशित

प्रतिक्रिया