बुधबार, असार २ २०७८ ०७:५२ PM

×

कोभिड र बजेट अभावका मारमा हुलाकी राजमार्गः भौतिक प्रगति ६३ प्रतिशत मात्र, ०७९/८० मा सकिएला ? 

images

काठमाडौँ ।  राष्ट्रिय गौरवको हुलाकी राजमार्ग आयोजनाको निर्माण कोभिड र बजेट अभावको  दोहोरो मारमा परेको छ । आगामी दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य लिइएको सो आयोजनाका कतिपय स्थानमा कोभिडका कारण सजिलै काम गर्न नसकिएको र ठेक्कामा भुक्तानी बाँकी भएका कारण काम रोकिने अवस्था आएको छ । 

चालु आवमा सो आयोजनामा कम बजेट छुट्याइएकाले बजेटको समस्या भएको आयोजना निर्देशनालयका प्रमुख रोहितकुमार बिसुरालले बताए । उनका अनुसार राष्ट्रिय गौरवको आयोजनामा बजेटको अभाव हुन नदिने सरकारको नीति भएकाले  कम बजेट छुट्याइने गरिएको छ ।

भुक्तानीका लागि पुसदेखि नै रकम अर्थ मन्त्रालयलाई माग गरिए पनि मत्रालयले अहिलेसम्म दिइनसकेको उनले बताए ।  बजेट अभावसँगै आयोजनामा दोस्रो भेरियन्टसहितको कोरोनाको असर परेको छ । धेरै जिल्ला प्रशासन कार्यालयले  निषेधाज्ञा जारी गरिरहेका छन् ।

काठमाडौँ उपत्यकाजसरी निर्माण ठप्प नै नभए पनि निषेधाज्ञाका कारण काममा बाधा आइरहेको छ । आइतबार मात्रै सुनसरीमा नेपाली सेनाले आयोजनाको निर्माणस्थलमा काम रोक्न भनेको थियो । निषेधाज्ञाका समयमा राष्ट्रिय गौरवका आयोजनाको निर्माण नरोकिने सरकारको निर्णयमा उल्लेख छ । 

आयोजनाले चालु आवमा लिएको लक्ष्यको धेरै काम  सम्पन्न भइसकेको छ । चालु आवमा लक्ष्य कम राखिएको र बजेट पनि त्यहीअनुसार कम राखिएको प्रमुख बिसुरालले बताए । निर्माण सम्पन्न भइसकेका ठेक्कामा समेत निर्माण व्यवसायीलाई भुक्तानी दिन सकिएको छैन  । 
आयोजनाले अहिलेसम्म झण्डै २ अर्ब रुपैयाँभन्दा बढी भुक्तानी बाँकी रहेको जनाएको छ । त्यो रकम नै तीन महिना पहिलेदेखि अर्थ मन्त्रालयसँग मागिएको उनले बताए ।

आयोजनाका अनुसार कम्पनीको २० करोड रुपियाँभन्दा बढीसम्म लगानी भइसकेको छ, व्यवसायीले हामीलाई कहिले भुक्तानी हुन्छ भनेर सोध्ने गरेका छन् ।

चालु आवमा लक्ष्यानुसार वित्तीय र भौतिक प्रगति हुने देखिएको छ । वार्षिक लक्ष्यका हिसाबले उपलब्धि मानिए पनि वार्षिक लक्ष्य कम निर्धारण हुँदा समग्र आयोजना सम्पन्न गर्न गाह्रो हुने प्रमुख बिसुरालको भनाई छ ।

आयोजनामा कुन वर्षमा कति कति किमी लक्ष्य लिने र कति बजेट आवश्यक छ भन्ने योजना बनाउनुपर्ने भए पनि वार्षिक लक्ष्य कम हुँदा तोकिएका अवधिमा  सकाउन कठिन हुन सक्ने उनले बताए । 

चालु आवमा सडक विभागले सो आयोजनामा छ अर्ब ९३ करोड रुपैयाँ छुट्याएको थियो । अहिले कतिपय ठेक्कामा भुक्तानी नभएकै कारण काम नै प्रभावित हुने अवस्था आएको छ ।

चालु आवमा सो आयोजनामा २०० किमी सडक कालोपत्र गर्ने लक्ष्य लिइएको थियो । वैशाखसम्ममा १७३ किमी कालोपत्र सकिएको छ । लक्ष्य पूरा हुने मात्रै नभएर कोभिडले निर्माणमा बाधा पुर्याउने अवस्था नआएमा लक्ष्यभन्दा बढी काम गर्न सकिने प्रमुख बिसुरालले बताए ।

अहिलेको अवस्थामा लक्ष्यानुसार २०० किमी कालोपत्र गर्न सकिने भए पनि बजेट नभएपछि थप काम अघि बढाउन नसकिने उनको भनाइ थियो । 

अहिले निषेधाज्ञा जारी हुँदा पहिले बन्दाबन्दीभन्दा काम गर्न केही सजिलो भएको आयोजनाले जनाएको छ । पहिले क्याम्प बसेर काम गर्दासमेत निर्माणस्थलमा नै आएर सुरक्षाकर्मीले काम बन्द गरेका थिए । अहिले राष्ट्रिय गौरवको आयोजनामा  सहजीकरण गर्ने सरकारले निर्णय गरेको छ  ।

तराई –मधेशको समृद्धिसँग जोडेर हेरिएको सो आयोजनामा हालसम्मको भौतिक प्रगति झण्डै ६३ प्रतिशत छ । गत महिनासम्ममा चालु आवको लक्ष्यानुसार ८५ प्रतिशत काम सकिएको छ । आयोजना विसं २०७९/०८० सम्ममा  सम्पन्न गर्ने लक्ष्य लिइएको छ । 

सोमबार ३ जेठ २०७८ ०३:५८ PM मा प्रकाशित

प्रतिक्रिया