म्याग्दी । बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरमा एक महिनाको अवधिमा करिब १९ लाख ७० हजार २ सय ५३ रूपैयाँ भेटी संकलन भएको छ । साउनका पाँच सोमबारका दिन पूजाआजाका लागि आएका भक्तजनले चढाएका रकमबाट सो भेटी जम्मा भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ ।
कोषका कोषाध्यक्ष कुमारी रोकाले पहिलो सोमबार ३ लाख ३९ हजार ५ सय ५६ रूपैयाँ, दोस्रो सोमबार ३ लाख १८ हजार ३ सय ३२ रूपैयाँ, तेस्रो सोमबार ३ लाख ७ हजार १३, चौथो सोमबार ५ लाख ६१ हजार ४ सय २३ र पाँचौं तथा अन्तिम सोमबार ४ लाख ६८ हजार ९ सय २९ भेटी संकलन भएको जानकारी दिए।
“साउन महिनाको सोमबार, बलाचर्तुदर्शी र शिवरात्रिको भोलिपल्टै र अन्य समयमा मासिकरूपमा भेटी गन्ने गरिएको छ”, उनले भने, “भेटी सार्वजनिक गर्न थालिएसँगै मन्दिरको आम्दानी पनि बढेको छ ।” साउनमा १ लाख २५ हजार भक्तजनले दर्शन र पूजाआजा गरेका गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । कोषका अध्यक्ष माधवप्रसाद रेग्मीका अनुसार संस्थाको विभिन्न बैंक तथा वित्तीय संस्थामा हाल ३ करोड ९ लाख ४९ हजार ५ सय ८८ मौज्जदात छ ।
जिल्ला प्रहरी, सशस्त्र प्रहरी, सामुदायिक प्रहरी, विभिन्न विद्यालय, क्लब र आमा समूहका स्वयंसेवकको सहभागितामा पूजालाई व्यवस्थित गरिएको थियो । म्याग्दी, पर्वत, बागलुङ, कास्की, चितवनलगायत जिल्ला र भारतबाट समेत गलेश्वर शिवालयको दर्शन तथा पूजाआजा गर्न भक्तजन आएका सदस्यसचिव बलबहादुर खत्रीले बताए।
साउन महिनाको सोमबार ब्रत बसेर, कालीगण्डकी स्नान र शिवालयमा चल चढाएमा मनोकांक्षा पूरा हुने जनविश्वास छ । कालीगण्डकी नदीको किनारमा नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै चट्टानमाथि अवस्थित गलेश्वर मन्दिर परिसरमा कहिल्यै नसुक्ने पोखरी छ । द्धापरयुगमा महादेवले सतिदेवीको मृत शरीर बोकेर कृष्णागण्डकी किनारैकिनार हिमालय पर्वततर्फ जाँदै गर्दा यसै स्थानमा सतिदेवीको गलापतन हुँदा ज्योतिर्लिङ्गेश्वर महादेव उत्पन्न भई शिवशक्तिस्वरूप रहनुभएकाले यसको धार्मिक इतिहास छ ।
भेटी, महायज्ञबाट संकलन तथा तीर्थयात्रीले दिएको दानबाट पछिल्लो १२ वर्षको अवधिमा करिब १० करोड रूपैयाँको लागतमा विभिन्न भौतिक पूर्वाधार निर्माण भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ ।
धर्मशाला, सभाहल, वाटिका, यज्ञशाला, पाठशाला, पुजारी निवास, भोजनालय, कालीगण्डकीसम्म पुग्ने मार्ग, एक सय आठ शिवलिंग, जडभरत, नटराज र लक्ष्मीनारायणको मूर्ति स्थापनालगायत भौतिक संरचना निर्माण भएका कोषका अध्यक्ष रेग्मीले जानकारी दिए।