×

मधेस प्रदेश ट्राफिक प्रहरीद्वारा २२ करोड राजस्व संकलन

images

कलैया । मधेस प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैया, बाराले आर्थिक वर्ष २०७८/७९ मा २२ करोड ४४ लाख रूपैयाँ राजस्व संकलन गरेको छ । सवारी नियम उल्लंघन गर्ने २ लाख ६४ हजार ९ सय १० साना ठूला सवारीसाधनका चालकलाई दण्डजरिवाना गरी उक्त रकम असुल गरिएको हो । 

मधेस प्रदेशका ८ जिल्लाका ट्राफिक प्रहरी कार्यालयबाट गत आवमा सवारी नियम उलङ्घन गरी  दण्डजरिवाना असूल गरिएको प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । सो क्रममा ९९ हजार ३५८ ट्रक चालकबाट ११ करोड ५२ लाख ४३ हजार रूपैयाँ, ७६ हजार ७१३  मोटरसाइकल चालकबाट ४ करोड ९५ लाख ७५ हजार रूपैयाँ  तथा ४७ हजार ५ सय ५ कार, जीप र भ्यान चालकबाट ३ करोड २० लाख रूपैयाँ राजस्व असुल गरिएको छ । 

यसैगरी १५ हजार ५४० ट्याक्टरका चालकबाट  ९६ लाख रूपैयाँ , १३ हजार ४ सय २० टेम्पु चालकबाट  ९० लाख ६४ हजार रूपैयाँ  र ११ हजार ६७७ बसका चालकबाट ८९ लाख २० हजार रूपैयाँ दण्डजरिवाना गरी राजस्व दाखिला गरिएको कार्यालयले जनाएको छ ।  

बुधबार १ भदौ २०७९ ०१:५९ PM मा प्रकाशित

प्रतिक्रिया