काठमाडौं । विश्वव्यापी रुपमै कोभिड १९ को संक्रमणदर घट्दै गएको छ । योसँगै लामो समयदेखि जारी लकडाउन खुकुलो गरिएको छ भने हवाई उडानलाई समेत खुला गरिएको छ ।
हवाई उडान सहज भएसँगै कोभिडका कारण विगत दुई वर्षदेखि समस्यामा परेको पस्मिना उद्योगले गति लिन थालेको नेपाल पस्मिना उद्योगका अध्यक्ष दुर्गाविक्रम थापाले जानकारी दिए ।
पस्मिनाको सिजन सुरु भएसँगै नेपालमा लकडाउन हटेको र अन्तर्राष्ट्रिय उडानहरु समेत सुचारु भएकोले यो वर्ष विगतका दुई वर्षभन्दा केहि उत्साहजनक हुने देखिएको उनको भनाई छ ।
‘अहिले सिजन सुरु भएकोले पनि पहिला भन्दा केहि व्यस्तता बढेको छ, अध्यक्ष थापाले भने, डिसेम्बरसम्म सिजन भएकोले पहिलाको अनुपातमा नभए पनि कोभिडको बीचलाई हेर्दा सकरात्मक रहेको देखिन्छ’ ।
पस्मिनाको माग सबैभन्दा बढी युरोप क्षेत्रमा रहे पनि अहिले अमेरिकाबाट पनि धेरै आउन थालेको छ । विषेश केन्द्रीत बजार युरोप नै रहे पनि दोस्रो बजारको रुपमा अमेरिका विस्तारित हुँदै गएको छ । पस्मिना भित्र पनि सबैभन्दा बढी स्वेटरको माग बढेको उनले बताए ।
मासिक रुपमा २५ करोड रुपैयाँ बराबरको पस्मिनाको निर्यात हुने गरेकोमा विगत दुई वर्षदेखि शून्यमा झरेको अध्यक्ष थापाको भनाई छ ।
नेपालबाट वार्षिक ३ अर्ब रुपैयाँको पस्मिना निर्यात हुने गरेको थियो । दुई अर्ब रुपैयाँ बराबरको नेपाल घुम्न आउने पर्यटकले खरिद गर्ने गरेको अध्यक्ष थापाको भनाई छ ।
अहिले नेपालमा १३५ वटा पश्मिना उद्योगहरु छन । जसमा ४०० सयभन्दा बढि व्यवसायी आवद्ध छन । करिब ७० उद्योगको पश्मिना विदेश निर्यात हुने गरेको छ । पश्मिना उद्योगमा २५ हजारदेखि ३५ हजार जनाले रोजगारी पाएका छन ।
संघको तथ्यांकअनुसार ०७४.०७५ मा २ अर्ब ४८ करोड ५१ लखको पश्मिना निर्यात भएको थियो । त्यस्तै ०७५/०७६ मा २ अर्ब ५१ करोड ४१ लाख तथा ०७६/०७७ को ९ महिनामा १ अर्ब ८६ करोड ७३ लाख रुपैयाँको पश्मिना निर्यात भएको छ ।
पस्मिनासँगै नेपालमा उत्पादन भएको कार्पेटको माग पनि अमेरिकामा बढ्दै गएको जनाएको छ । नेपाली उत्पादनलाई धेरै रुचाइएको कारण पनि पछिल्लो समय कार्पेटको माग धेरै रहेको संघका अध्यक्ष थापाको भनाई छ ।कोभिड संक्रमणदर कम भएसँगै विस्तारै अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादन निर्यातमा सहज बन्दै गएको उनको भनाई छ ।