भेरी बबई डाइभर्सन परियोजनाः ९ महिनामा झन्डै ६० प्रतिशत सुरुङ खनियो

बाँके र बर्दिया क्षेत्रको लगभग ५१ हजार हेक्टर जमिनलाई सिँचाइ सुविधा पुर्याउने उद्देश्यले निर्माण थालिएको परियोजनामा सन् २०१७ नोभेम्बरबाट टीबीएम मेसिनमार्फत सुरुङ खनिँदै आइएको हो ।

नेपालमा पहिलो पटक टनेल बोरिङ मेसिन (टीबीएम) प्रयोग गरी सुरुङ खन्न थालिएको भेरी बबई डाइभर्सन परियोजनाको झन्डै ६० प्रतिशत सुरुङ खन्ने काम सकिएको छ । बाँके र बर्दिया क्षेत्रको लगभग ५१ हजार हेक्टर जमिनलाई सिँचाइ सुविधा पुर्याउने उद्देश्यले निर्माण थालिएको परियोजनामा सन् २०१७ नोभेम्बरबाट टीबीएम मेसिनमार्फत सुरुङ खनिँदै आइएको हो ।

अमेरिकी प्रविधिमा चीनमा निर्माण भएको उक्त मेसिनमार्फत सुरुङ खन्न थालिएपछि तोकिएको समय अघि परियोजना निर्माण हुने अपेक्षा लिइएको छ । झन्डै १२ किलोमिटर सुरुङमध्ये अहिलेसम्म ७ किलोमिटर सुरुङ खनिएको आयोजनाका प्रमुख शिवकुमार बस्नेतले जानकारी दिए । उनले ५ देखि ६ किलोमिटरसम्मको भागमा कडा चट्टान भएकाले छिचोल्न निकै समय लागेको बताए । अब खन्न बाँकी भाग केही सजिलो र भूबनोट नरम रहेकाले छिटो—छिटो काम हुने बताए । ‘साढे ५ खि ६ किमी सुरुङ छिचोल्न निकै गाह्रो भएको थियो,’ उनले भने, ‘अहिले त्यस्तो कुनै कठिन भूबनोट परेको छैन, काम भइरहेको छ ।’

उनले यही रफ्तारले काम भएको खण्डमा ६÷७ महिनाभित्र सुरुङको काम सकिने बताए । कुल १० अर्ब ५६ करोड लागत अनुमान गरिएको सो आयोजनाको हालसम्म करिब ६ अर्ब खर्च भइसकेको प्रमुख बस्नेतले बताए ।

टीबीएम मेसिनमार्फत खन्दा केही सहज र छिटो हुने भएकाले पनि तोकिएको समयमा काम सम्पन्न हुनेमा आयोजना ढुक्क छ ।