लाभांश घोषणा गरेको वोमीको सेयर किन्ने कोही भएनन्

आफूसँग सेयर भएका लगानीकर्ताले प्रतिकित्ता १ हजार १ सय ४३ रुपैयाँदेखि १ हजार एक सय ५३ रुपैयाँसम्ममा बिक्री गर्न चाहेका छन् ।

वोमी माइक्रोफाइनान्स लघुवित्त संस्थाले २५ प्रतिशत नगद लाभांश दिएपछि सेयर विक्री गर्नेको चाप बढेको छ । बोनस सेयरमा रमाउने लगानीकर्ताहरुले नगद लाभांशलाई अस्वीकारजस्तै गरेका छन् । मङ्गलबार १ हजार २ सय ७० रुपैयाँ प्रतिकित्ता कारोबार भएकोमा बुधबार करिब १० प्रतिशत मूल्य झरेर १ हजार एक सय ४३ रुपैयाँमा झरे पनि सेयर खरिदकर्ता नै छैनन् ।

वोमीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई २ करोड ५२ लाख ७२ हजार रुपैयाँबराबरको २५ प्रतिशत नगद लाभांश दिने घोषणा बुधबार गरेको छ । यससम्बन्धी सूचना नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आउनेबित्तिकै वाेमीको सेयर मूल्य घटेको हो । बिक्रीकर्ताको चाप बढे पनि खरिदकर्ता भने भेटिएका छैनन् ।

कम्पनीको २ हजार ४ सय कित्ता सेयर बिक्रीमा भए पनि किन्न चाहने लगानीकर्ता छैनन् । १५ ओटा बिक्री अर्डर भए पनि एउटा पनि खरिद अर्डर छैन । आफूसँग सेयर भएका लगानीकर्ताले प्रतिकित्ता १ हजार १ सय ४३ रुपैयाँदेखि १ हजार एक सय ५३ रुपैयाँसम्ममा बिक्री गर्न चाहेका छन् ।

वोमीले गत वर्ष १ करोड ७७ लाख ६० हजार रुपैयाँ खुद नाफा कमाएको थियो । गत वर्ष २० प्रतिशत बोनस सेयर दिएर १० बराबर ३ (१०ः३)को अनुपातमा हकप्रद बिक्री गरेको वोमीले बोनस सेयरका सट्टा नगद लाभांश नै दिएपछि लगानीकर्ता निराश बनेका हुन् । समग्र नेप्से २७ अङ्कले उकालो चढ्दा पनि लाभांश घोषणा गरेको वोमीको भने सर्किट लाग्ने गरी बजार ओरालो लागेको हो । हाल वोमीको चुक्ता पुँजी ३ करोड ६० लाख रुपैयाँ छ ।