×

‘जे खोज्यो, त्यही सुविधा नदिए विदेशी पाहुना नेपाल आउँदैनन्’

images

नेपालको अर्थतन्त्रको बाह्य क्षेत्र निरन्तर दबाबमा छ । केन्द्रीय बैंकले बाह्य क्षेत्रको दबाबलाई कम गर्न केही नीतिगत प्रयास गरेको छ । सरकारले पनि आयात कडाइमार्फत बाह्य क्षेत्र सुधार्न थालेको छ । 

तर, दुवैको प्रयास पर्याप्त छैन । केन्द्रीय बैंकले प्रकाशित गरेको चैत महिनाको तथ्यांक हेर्दा अझै विदेशी मुद्राको सञ्चिति घट्दो क्रममा छ । विदेशी मुद्राको सञ्चिति बढाउन नेपालसँग ५ वटा मात्रै तरिका छन् । 

(१) विदेशी ऋण (२) विदेशी अनुदान (३) निर्यात वृद्धि (४) रेमिट्यान्स (५) विदेशी पर्यटक भित्र्याएर । पाँच तरिकाबाट विदेशी मुद्रा आर्जन हुन्छ । अहिले विदेशी ऋण पनि गत वर्षकै हाराहारीमा आइरहेको छ । अनुदानको मात्रा पनि त्यही गतिमा छ । निर्यात पनि गत आर्थिक वर्षको तुलनामा बढेको छ । तर, रेमिट्यान्स घटेको छ र पर्यटकबाट हुने आम्दानी घटेको छ । 

सरकारले पर्यटकलाई आक्रर्षित गरेर विदेशी मुद्रा आर्जन गर्न सक्छ । अहिले संसारभर विदेशी पर्यटकहरु घुम्न निस्किन थालेका छन् । दुई वर्षसम्म घरमै थन्किएर बसेको विदेशी नागरिकहरु अहिले विश्वभर पुग्न थालेका छन् । 

विश्वभर घुम्न निस्किएका नागरिकहरुलाई नेपालमा ल्याउन सरकारले अनेकन सुविधा उपलब्ध गराउनुपर्छ । सरकार अहिले बजेट बनाउने चटारोमा छ । विदेशी नागरिकलाई नेपालमा भित्र्याउन र बढी भन्दा बढी बसाई लम्ब्याउनका लागि नीतितहमा काम गर्नुपर्छ । 

नेपालमा पर्यटक पूर्वाधार विस्तारै बन्दै गएका छन् । तर, कछुका गतिमा विकास हुँदै छन् । त्यो गति बढाउन आवश्यक छ । देशका विभिन्न क्षेत्रमा निजी क्षेत्रले होटललगायत पूर्वाधार बनाइरहेका छन् । उनीहरुलाई उत्प्रेरण जगाउन कर छुट तथा अन्य सहुलियत दिनुपर्छ । 

अहिले सरकारले विदेशी मदिरा आयातमा रोक लगाएको छ । तास आयातमा पनि प्रतिबन्ध लगाएको छ । विदेशी पाहुनाले चाहेको मदिरा खान पाएन भने उ नेपाल किन आउँछ ? विदेशीले क्यासिनोमा गएर तास खेल्न पाएन भने उ नेपाल किन आउँछ ? तास क्यासिनोको मुख्य कच्चा पदार्थ हो । नेपालमा वार्षिक डेढ अर्बको महँगो मदिरा आउँछ । त्यो भनेको जम्मा जम्मी डेढ करोड डलर हाराहारी हो । तर, महँगा मदिरा प्रतिबन्ध छ भन्ने सन्देश विश्वभर जानु भनेको नराम्रो हो । त्यो सन्देशले नेपाल आउन लागेको पर्यटक अन्यत्र मोडिन सक्छ । त्यतातिर सरकार गम्भीर हुन जरुरी छ । 

यसरी सरकारले एकै पटक सबै वस्तुको आयातमा रोक लगाएपछि बल्ल खुलेको पर्यटनक्षेत्र कसरी उकालो लाग्न सक्छ ? ग्राहकले जे खोज्यो, त्यही दिन सक्नुपर्छ । तब न विदेशी पाहुना नेपाल आउँछन् ।  

कोभिडपछि सबै देशले पर्यटनलाई नै प्राथमिकता दिएका छन् । उनीहरुलाई बढीभन्दा बढी सुविधाका प्याकेजहरु दिएर आफ्नो मुलुकमा भित्र्याइरहेका छन् । तर, नेपालमा पर्यटकले अति रुचाउने सबै वस्तुको आयातमा रोक लगाएपछि उनीहरुको रोजाई नेपाल पर्छ ? 

पर्यटकले खर्च गर्दा जहाँ बढी सुविधा उपभोग गर्न पाउँछन्, त्यतै जाने भएकाले सरकारले अहिले गरेको क्रियाकलाप बन्द गर्नुपर्छ । क्यासिनोलाई चाहिने तास र होटललाई चाहिने हरेक प्रकारका मदिरा आयातमा रोक लगाइनु हुँदैन । 

पर्यटन क्षेत्रले आर्थिक गतिविधिलाई चलायमान बनाउँछ । १०० डलरको सामान आयात हुँदा त्यसबाट अर्थतन्त्रमा ठूलो योगदन पुग्छ  । विदेशी मुद्राको सञ्चितिमाथि परेको दबाब पनि कम हुन्छ । 

निजी क्षेत्रले पर्यटन पूर्वाधार बनाए तर कमाउन सकेका छैनन् । सरकारले कमाउन पनि दिनुपर्याे । पर्यटक नेपाल भित्रिँदा सोझो रुपमा व्यवसायीले कमाएको देखिए पनि सरकार त्यसको ठूलो लाभदायी हुन्छ । त्यो तथ्यलाई सरकारले आत्मसाथ गर्नुपर्छ । 

पछिल्लो एक दशकको बीचमा भूकम्प, नाकाबन्दी र कोरोनाजस्ता धेरै समस्या पर्यटन क्षेत्रले भोग्दै आएको छ । यसले पर्यटनक्षेत्र धराशायी बन्दै गइरहेको छ । साथै रूस र युक्रेन युद्धका कारण पनि नेपालको पर्यटनमा असर परेको छ । यति भन्दा भन्दै पनि संकटमा परेको पर्यटन व्यवसाय उकास्न सरकारी स्तरबाट प्रयास हुँदै नभएको भने होइन । कोभिडको बेला दिएको राहतले केही सहज भने बनाएको थियो ।

विदेशी मुलुक थाइल्यान्ड, माल्दिभ्सलगायत मुलुकले पर्यटकलाई आफ्नो मुलुकमा ल्याउन आक्रामक तयारी थालेका छन् । त्यो हेर्दा नेपाल केही पछि परेको हो कि भन्ने भान हुन्छ । कोभिडको संक्रमणदर अन्य मुलुकमा भन्दा कम भइरहेका बेला पनि नेपालको विषयमा पर्याप्त मात्रामा प्रचार नै गर्न सकिरहेका छैनौं ।

रोजगारीका लागि विदेशमा नगएको बेला सबैभन्दा बढी विदेशी मुद्रा आर्जन गर्ने क्षेत्र पर्यटन नै हो । मुलुक भित्रिने कुल विदेशी मुद्रामध्ये १२ प्रतिशतसम्म डलर विगतमा पर्यटन क्षेत्रबाट आउथ्यो । कोभिडपछिको तथ्यांक हेर्दा २ प्रतिशतमा झरेको छ । त्यसअघि पनि चार/पाँच प्रतिशतमा मात्र सीमित थियो । 

१२ प्रतिशत योगदान रहेको पर्यटन क्षेत्र एक्कासि २ प्रतिशतमा कसरी झ¥यो भन्ने विषयमा पनि अध्ययन हुन आवश्यक छ । जति बेला नेपालमा पर्यटन क्षेत्रले १२ प्रतिशत डलर भित्र्याउँथ्यो त्यति बेला नेपाल एयरलाइन्स बलियो थियो । 

एयरलाइन्स विभिन्न मुलुकमा गएर विदेशी पर्यटकलाई नेपाल ल्याउँथ्यो । अहिलेको जसरी रोजगारीका लागि नेपालीहरु विदेशमा जाने प्रचलन थिएन । ६० प्रतिशतभन्दा बढी विदेशीहरु विदेशी एयरलाइन्सबाट नआई सीधै नेपाल एयरलाइन्सबाट आउँथे । अहिले त्यो संख्या झर्दै गएर जम्माजम्मी ३ प्रतिशत पुगेको छ। विदेशी बोक्ने जहाजले नेपाली श्रमिकहरु नै बढी बोकिरहेको छ । यस्तै जहाज संख्या पनि घटेको र उडान गन्तव्य पनि खुम्चिएको छ ।

यसरी हेर्दा नेपाल आउने विदेशीलाई विदेशी एयरलाइन्सले बोकिरहेका छन् । र, पर्यटकले खर्च गर्ने रकमको ६० प्रतिशत हवाई भाडामै गइरहेको छ । त्यसैले नेपालमा विदेशी मुद्रा बढाउन एयरलाइन्सको आम्दानी यही“ ल्याउन सक्नुपर्छ । साथै त्यसका लागि नेपाली ध्वजावाहकको संख्या बढाउनुपर्छ । 

नेपाल एयरलाइन्सलाई बलियो बनाउँदै अन्य एयरलाइन्सलाई पनि विदेशका विभिन्न गन्तव्यमा उडानका लागि प्रोत्साहन गर्नुपर्छ । जति धेरै स्वदेशी एयरलाइन्सहरु विदेशमा उड्छन् त्यति नै भाडा पनि सस्तो हुन्छ र उनीहरुले टिकटबापत काटेको रकम पनि नेपालमै भित्रिन्छ ।

डलर कमाउने पर्यटन व्यवसायीहरुको पनि सरकारसँग सधैं गुनासोको विषय भनेको ‘हामीले डलर ल्याउने तर, खर्च अरुले गरेर त्यसबाट मुनाफा लिने काम मात्र भयो’ भन्ने छ । हामीले कमाएको डलरबाट विदेशबाट सामान ल्याएर नेपालमा बेचेर कमाइ गरिरहेको बेला पर्यटन क्षेत्रका व्यक्तिहरुलाई पनि केही न केही त सुविधा दिनुपर्छ । 

पर्यटन क्षेत्रको विकासका लागि होटल मात्र खुलेर हुँदैन । दीर्घकालीन योजना ल्याएर पर्यटन क्षेत्रमा नयाँ उत्पादन नल्याएसम्म सोचअनुसार पर्यटक ल्याउन सकिँदैन । यहाँ पर्यटनका लागि सम्भावना नै सम्भावना भएका क्षेत्र हुँदाहुँदै पनि तिनको उचित प्रचारप्रसार र व्यवस्थापन गर्न नसक्दा ओझेलमा पर्दै गएको देखिन्छ । यदि ती क्षेत्रको विकासमा सरकारले ध्यान दिने हो र सोहीअनुसार योजना बनाउने हो भने २० लाख हैन वर्षमा ५० लाख पर्यटक सहजै भित्र्याउन ल्याउन सकिन्छ । 

नयाँ योजना बनाउन सरकार र निजीक्षेत्र एक भएर योजना बनाउनुपर्छ । यस्तै नेपाल पर्यटन बोर्डलाई रिभाइब गर्ने वा पर्यटन बुझ्ने व्यक्ति बोलाई वर्षको दुई सिजन मात्रै होइन, बाह्रै महिना ल्याउन सक्ने योजना बनाउनुपर्छ ।

त्यसो त हरेक मन्त्री र सचिव फेरिनासाथ नयाँ रिपोट बनाउने गरिएको छ । त्यो रिपोर्ट कहाँ पुग्छ र पुरानो रिपोर्ट के भयो भन्ने विषयमा केही जानकारी नै हुँदैन । मात्र अध्ययन गर्ने तर, कार्यन्वयन नगर्ने प्रवृत्ति पर्यटन क्षेत्रमा छ । 

निर्माणाधीन गौतम बुद्ध र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई छिटोभन्दा छिटो सञ्चालनमा ल्याउने र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई सुधार गर्नुपर्ने देखिन्छ । अहिलेको त्रिभुवन विमानस्थल अन्तर्राष्ट्रिय भन्न मिल्ने खालको छैन । विमानस्थलमा झर्नेबित्तिकै पर्यटकलाई स्वागत गर्नै जानेका छैनौं । उनीहरु आउँदाबित्तिकै तपाईं मेटल फ्री जोनमा हुनुहुन्छ भन्दै बेल्टसहित सबै खोलखाल गरी पर्यटकलाई अनावश्यक दुःख दिइएको छ । यसले सुरूवातमै नकारात्मक झल्को दिन्छ ।

 शाह, होटल एसोसिएसन अफ नेपाल (हान)का प्रथम उपाध्यक्ष हुन् । 

बुधबार ४ जेठ २०७९ ०२:३३ PM मा प्रकाशित

प्रतिक्रिया