×

सिप्रभ्यले नेपालमा बनाउँदैछ रातको ४ हजार डलर तिर्नुपर्ने रिसोर्ट 

images

काठमाडौं। नेपाल भ्रमणमा आउने पर्यटकले यहाँका होटल तथा रिसोर्टमा एक रात बिताउँदा कति पैसा तिर्नुपर्ला? ४०, ५०, १०० वा १५० डलर? वा अझै बढी?

प्रतिकोठा प्रतिरात तिर्नुपर्ने भाडादर अब चाँडै ह्वात्तै बहुगुणाले बढ्ने भएको छ। र, यसलाई अरूले होइन, नेपालकै निजी क्षेत्रको एक ‘हस्पिटालिटी’ कम्पनीले  व्यवहारमै उतार्न लागेको हाे। 

संसारका राम्रा गन्तव्यका अतिसुविधासम्पन्न ‘लक्जरी’ होटल तथा रिसोर्टले लिने कोठा मूल्य अब नेपालमै बन्ने रिसोर्टले पनि लिनेछ। तर, कति?

१३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) र १० प्रतिशत सेवा शुल्कबाहेक ४ हजार अमेरिकी डलर तिर्नुपर्ने कोठायुक्त रिसोर्ट बनाउने तयारीमा नेपाली हस्पिटालिटी कम्पनी सिप्रभ्य होटल एन्ड रिसोर्ट प्रालि लागेको छ।

के नेपालमा यो सम्भव छ? ‘किन नहुनु?,’ सिप्रभ्यको उक्त महात्वाकांक्षी रिसोर्ट निर्माण तयारीमा संलग्न एक अधिकारीले क्यापिटल नेपालसँग भने, ‘थोरै पैसा खर्च गर्ने पर्यटक होइन, बढिभन्दा बढी पैसा खर्च गर्ने अर्ब–खर्बपति पर्यटक लक्ष्य गरी रिसोर्ट निर्माण गर्न लागेका हौं।’

उनको योजनामा विश्वास गर्ने हो भने नेपालमा त्यस्ता हजारौं अर्ब–खर्बपति ‘क्वालिटी टुरिस्ट’ ल्याउन सकिन्छ र तिनलाई सिप्रभ्यका रिसोर्टमा आतिथ्य सत्कार प्रदान गर्न सकिने छ।

‘अब बढीमा तीन वर्ष कुरेपछि हाम्रो योजना साकार हुनेछ,’ ती अधिकारीले भने, ‘तर, पहिलो चरणमा काठमाडौंमा होइन, यसका लागि बर्दिया गन्तव्य रोजेका छौं।’

उनका अनुसार नेपालमै पहिलोपटक यस्तो महात्वाकांक्षी पर्यटन परियोजनाले मूर्तरूप लिन लागेको हो। अर्ब–खर्बपति पर्यटक जो घुम्न, आराम गर्न र ‘बिजनेस मिटिङ’ गर्न विभिन्न देश पुग्छन्, तिनलाई लक्ष्य गरी बर्दियामा २५ भिल्लासहितको लक्जरी रिसोर्ट निर्माण गर्न लागिएको हो। 

सिप्रभ्यले बर्दिया र काठमाडौंको रविभवनमा एक–एक ठूला रिसोर्ट निर्माण गर्न लागेको हो। भारतको प्रतिष्ठित होटल ब्रान्ड ओबरायमार्फत व्यवस्थापन हुने ती रिसोर्टमध्ये बर्दियामा प्रतिकोठा प्रतिरात भाडा ४ हजार डलर पर्ने छ। जुन नेपालमा अहिलेसम्मकै सबैभन्दा उच्च मूल्य लिने रिसोर्ट हुनेछ। 

त्यस्तै रविभवनमा बन्ने रिसोर्टले पनि प्रतिरात प्रतिकोठा न्यूनतम ७ सय डलर भाडा लिने छ। ओबराय विश्वका अर्बपति र खर्बपतिका रोजाइमा पर्दै आएको होटल ब्रान्ड हो। 

बर्दियामा निर्माण हुने रिसोर्ट डिजाइनको काम अन्तिम चरणमा पुगेको छ। सन् २०२५ अघि नै निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने गरी काम अगाडि बढिरहेको ती अधिकारीले जानकारी दिए। 

बर्दियाको रिसोर्ट ४० बिघा क्षेत्रफलमा निर्माण हुनेछ भने २५ वटा भिल्ला हुनेछन्। दुवै रिसोर्ट सिप्रभ्यमार्फत सञ्चालन हुनेछन्। 
परियोजना डिजाइनकै क्रममा रहेकाले लागत कति लाग्छ भन्ने यकिन  भइनसकेको सिप्रभ्यका अर्का एकअधिकारीले बताए। ‘डिजाइन अन्तिम चरणमा छ,’ उनले भने, ‘तर, लगानी कति पुग्छ भन्ने डिजाइनमै भरपर्छ।’

पर्यटकीय दृष्टिकोणले नेपाल अत्यन्तै सुन्दर हुँदाहुँदै संसारका धनाढ्यहरूलाई यहाँ  ल्याउन नसकिरहेका बेला ओबराय ब्रान्डले यसमा सहजीकरण गर्ने ती अधिकारीको दाबी छ। 

‘हामीले नेपाल घुम्न आउनू भन्ने होइन, विश्वका धनाढ्यहरू नै ओबराय काठमाडौंमा बस्न भनेर आउनेमा हामी विश्वस्त छौं। हामीले त्यहीअनुसार पूर्वाधार बनाउने छौं,’ उनले भने, ‘बस्ने ठाउँ उपयुक्त नभएकै कारण पनि नेपाल आउन चाहने धनाढ्यहरू पनि आउन सकिरहेका छैनन्। ओबराय प्रवेशपछि अर्बपपतिहरूको बिदा मनाउने गन्तव्य सूचीमा नेपाल पर्ने विश्वास छ।’ 

जनवरी २०२३ बाट रविभवनमा निर्माण हुँदै सिप्रभ्यले रविभवनमा भने २०२३ जनवरीबाट रिसोर्ट निर्माण सुरु गर्ने तयारी गरेको छ। रविभवनमा निर्माण हुने रिसोर्टको डिजाइन सकेर नक्सा पाससमेत भइसकेको छ। ४८ रोपनी क्षेत्रफलमा निर्माण हुने उक्त रिसोर्टमा विभिन्न भिल्ला रहनेछन् जसमा ८५ लक्जरियस कोठा हुनेछन्। 

रिसोर्ट निर्माणका लागि जग्गाबाहेक सिप्रभ्यले १० अर्ब रुपैयाँभन्दा बढी लगानी गर्ने छ। हुन त सिप्रभ्यले केही वर्षअघि नै रविभवनमा रिसोर्ट निर्माण गर्ने तयारी गरेको थियो। 

‘तर, दुई वर्ष कोभिड महामारीका कारण ढिलाइ हुन पुग्यो। अहिले फेरि रुस–युक्रेन युद्धका कारण सामान महँगो भइरहेको छ,’ सम्बद्ध अधिकारीले भने, ‘यो अवस्था सामान्य हुनासाथ आगामी जनवरीबाट रिसोर्ट निर्माण सुरु गर्ने र बढीमा साढे दुई वर्षभित्र सञ्चालनमा ल्याउने गरी द्रुत गतिमा काम भइरहेको छ।’

नेपालमा सञ्चालित होटल तथा रिसोर्टमध्ये पृथक सेवा–सुविधा दिने उद्देश्यसाथ निर्माण हुन लागेको उक्त रिसोर्टमा आउने पाहुनालाई सेवा दिन प्रतिकोठा दुई कर्मचारी खटाइने छ। 

‘रिसोर्टले दिनुपर्ने सेवा–सुविधामा कुनै ढिलाइ नहोस् भन्ने उद्देश्य हाम्रो हो। लक्जरी रिसोर्ट भए पनि यहाँका पाँचतारे होटलहरूसँग हाम्रो कुनै प्रतिस्पर्धा हुनेछैन,’ उनले भने, ‘यहाँका होटलमा आउने र हाम्रोमा आउने पाहुना विल्कुलै फरक हुनेछन् किनभने धेरै खर्च गर्न रुचाउनेमात्र हाम्रा रिसोर्ट आउनेछन्।’

 

आइतबार​ २ असोज २०७९ ०६:५४ PM मा प्रकाशित

प्रतिक्रिया